एक महिना अगाडिदेखि तयारी सुरु

|

विराटनगर : विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्रा यसपटक स्वर्ण महोत्सवका रूपमा मनाइने भएको छ। विक्रम संवत २०२५ सालबाट सुरु भएको रथयात्रा सञ्चालनको ५० वर्ष पूरा हुन लागेको अवसरमा यसपटक विशेष कार्यक्रमसहित स्वर्ण महोत्सवका रुपमा रथयात्रा मनाउन लागिएको हो। रथयात्रा आयोजक श्री राधाकृष्ण मन्दिर समितिले शनिबार विराटनगरमा धार्मिकसभा एवं सम्मान कार्यक्रमको आयोजना गरेर सो विषयमा जानकारी गराएको छ।

रथयात्राको ठीक एक महिनाअघि धार्मिकसभाको आयोजना गरेर रथयात्राको तयारी शुरु गर्ने परम्पराअनुसार कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश निरौलाले जानकारी दिए।

स्वर्ण महोत्वसको अवसरमा यसपटक साताव्यापी विविध कार्यक्रम गरिने उनले जानकारी दिए। कार्यक्रमअनुसार साउन २५ गते मन्दिर परिसरमा झण्डोत्तोलन, २६ गते परोपकारघाट र विश्रान्तिस्थलमा वृक्षारोपण, २७ गते रक्तदान एवम आँखादान शिविर र २८ गते इस्कोन नेपालद्वारा मन्दिर परिसरमा धार्मिक भजनकिर्तन सन्ध्याको आयोजना गरिने जनाइएको छ।

यस्तै, २९ गते संस्कृत विद्यालयका बटुकलाई शैक्षिक सामग्री वितरण, ३० गते नगरक्षेत्रमा प्रभातफेरी र धार्मिक सभा र साउन ३१ गते रथयात्रा निकालिने जनाइएको छ। कार्यक्रममा बोल्दै श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले रथयात्राको विशिष्ठ धार्मिक महत्व रहेको बताए।

पोकरमल राठी पुरस्कार निरौलालाई

विगतका वर्षबाट नै प्रदान गरिँदै आएको पोकरमल राठी धर्मसंस्कृति पुरस्कार यसपटक लामो समयदेखि रथ सञ्चालनमा सारथिको भूमिका निर्वाह गर्दै आएका पण्डित भवानीशंकर निरौलालाई प्रदान गर्ने निर्णय भएको छ। उक्त पुरस्कारको राशि ९१ हजार रहेको छ। स्वर्ण महोत्सवको अवसरमा यसपटक रथयात्राका दिन आगन्तुक ५ हजार धर्मावलम्बीका लागि भण्डारासमेत आयोजना गरिने भएको छ।

स्वर्ण महोत्सव सम्पन्न गर्न यसपटक विभिन्न १९ वटा उपसमितिसमेत गठन गरिएको मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लीलानाथ बरालले जानकारी दिए। कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाप्रमुख भीम पराजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनलाई मन्दिर कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले सम्मान गरेका थिए। विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौं श्रद्धालु सहभागी हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.