|

अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका मन्त्रीले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेका छन्।
    

मन्त्रीहरूले इजरायली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्न आवश्यक प्रयासबारे छलफल गरेको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ता अहमत अबुजैदले जनाएका छन्। 

बैठकमा इजिप्ट, साउदी अरब, कतार र जोर्डनका विदेशमन्त्रीका साथै इमिरेट्सको अन्तर्राष्ट्रिय सहयोगमन्त्री र प्यालेस्टिनी प्राधिकरणका नागरिक मामिलामन्त्री सहभागी भएको मन्त्रालयले बताएको छ।

यसैबीच इजिप्टमा रहेका अमेरिकी विदेशमन्त्री ​ब्लिङ्केनले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र विदेशमन्त्री समेह शौकरीसँग भिन्नाभिन्नै छलफल गरे। अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठकमा ‘गाजामा प्यालेस्टिनी नागरिक र मानवीय कार्यकर्ताहरूको सुरक्षाका लागि जारी प्रयास’ तथा ‘बन्धकहरूको रिहाइसहित तत्काल युद्धविराम सुनिश्चित गर्ने’ बारे छलफल भएको थियो। 

इजिप्ट, गाजालाई सहायता पुर्याउने मुख्य प्रवेशविन्दु हो र छ साताको युद्धविराम सुरक्षित गर्नका लागि कतारमा जारी वार्तामा प्रमुख मध्यस्थकर्ता पनि हो। वार्ताले इजरायलले बन्दी बनाएका प्यालेस्टिनी कैदीहरूसँग हमासले नियन्त्रणमा लिएका बन्धक साट्न अनुमति दिनेछ र गाजालाई सहायता वितरण बढाउने छ। 

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले गाजाका २४ लाख मानिस भोकमरीको सङ्घारमा रहेको बताएका छन्। राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्क टर्कले इजरायलले भोकमरीलाई युद्धको तरिकाका रूपमा प्रयोग गरिरहेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.