|

काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रवारसम्म चल्नेछ। 

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेशियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ। 

अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्।

विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञानार्जन र शेयर गर्न सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताए। 

सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ। यो विषयवस्तुमा तयार कूल ३८ अनुसन्धान पत्रमा ११ प्राविधिक शत्र प्रस्तुत हुँदै छन्।

पहिलो दिन आज ६ सत्र सम्पन्न हुँदै छन्। सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘कि-नोट लेक्चर’ र ५ विज्ञ सम्मिलित एक प्यानल छलफल हुने आयोजक समितिले जनाएको छ। 

सम्मेलनमा कूल १५० जनाको सहभागिता रहेको छ। सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञानार्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताए।

“विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ,” विष्टले भने। 

अर्थविद् डा लक्ष्मणसिंह कुमारले विभिन्न विभागबाट प्राप्त सहयोगको कदर गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गरे। आर्थिक मन्दी, जलवायु परिवर्तन, तरलता समस्या र घट्दो घरेलु उत्पादन जस्ता मुख्य चुनौती देखिएको उनको भनाइ छ।

कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा देखिएको चुनौती सामनाका लागि तथा बजारको माग पूरा गर्न र घट्दो उपभोगको असरलाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्।

उनीहरुले अर्थतन्त्रमा उदीयमान समस्यालाई सम्बोधन गर्न सामूहिक प्रयासका लागि आह्वान गरेका छन्। रूस–युक्रेन द्वन्द्व र आर्थिक गतिशीलतामा यसको प्रभावजस्ता विश्वव्यापी मुद्दा समाधान गर्न राष्ट्रहरुबीचको दिगो विकास र सहयोगमा ध्यान केन्द्रित गर्नसमेत उपस्थित अर्थविद्को माग छ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा एवं सुदूरपश्चिम विश्वविद्यालय र ती विश्वविद्यालयका विभिन्न आङ्गिक एवं सम्बन्धनप्राप्त क्याम्पस तथा विभागहरुसमेत संलग्न रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.