४५ हजार बढी मुद्दा दर्ता

|

काठमाडौं :  विगतका वर्ष जस्तै यो वर्ष पनि नेपालमा विभिन्न अपराध भए। ती अपराधमा मुद्दा दर्ता पनि भएका छन्। प्रहरीका अनुसार फागुन ३० सम्मको अवधिमा कुल ५९ हजार ६१ वटा मुद्दा दर्ता भएका छन्।

यो वर्ष पनि हत्या हिंसाको घटनाहरू रोकिएनन्। प्रहरीको तथ्यांकअनुसार बैंकिङ कसुर​,सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध, आत्महत्या,लागुऔषध,चोरी,जबरजस्ती करणी,ठगी, ज्यान मार्ने उद्योग,बहुविवाह,र सार्वजनिक शान्ति विरुद्धको कसुरमा मात्र ४५ हजार ७ सय ७५ मुद्दा दर्ता भएका छन्।

जसमा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमा १३ हजार २ सय ७७ रहेका छन्।

त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० हजार ८ सय ६३, आत्महत्याका ७ हजार १ सय ९४, लागुऔषधका ४ हजार २ सय ८४, चोरीका ३ हजार ७ सय २५, जबरजस्ती करणीका २ हजार ४ सय ६८, ठगीका १ हजार ६ सय ६०, ज्यान मार्ने उद्योगमा १ हजार ४५, बहुविवाहका ७ सय २४ र सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५ सय ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

यो अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरू नियन्त्रणमा  लिएर सजायका लागि अदालतमा पेस गरिएको छ। उनीहरूलाई ५ हजार ४ सय १६ वर्ष ७ महिनाको सजाय तोकिएको छ। र जरिवानाबापत १ अर्ब ९७ करोड ९६ लाख १६ हजार ५ सय ३८ रुपैयाँ  तोकिएको छ।

प्रहरी यो वर्ष करिब ४३ करोड बराबरको अवैध सुन बरामद गरेको छ।  वि.स २०७९ चैत्र १० देखि २०८० फाल्गुन ३० गतेसम्मको समय अवधिमा प्रहरीले विभिन्न स्थानबाट ४३ करोड ३५ लाख ३ हजार ८ सय ४७ रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको थियो।

यो वर्ष कस्ता कस्ता अपराधहरू भए? र सँगै अदालतले फैसला गरेका चर्चित घटनाहरूको सारमा समेट्ने कोसिस गरेका छौँ।

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत वैशाख २७ गते पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परे। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता र सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेको थियो। 

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्।

उक्त प्रकरणमा रामशरण केसी र मोरङका गोविन्द चौधरीसहित ३० जनाविरुद्ध संगठित अपराध, किर्ते लगायतका पाँच कसुरमा अदालतमा मुद्दा दायर भएको थियो।

यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरी थुनामा रहेका छन्।

टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च आदेश दिएको थियो

पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि मंसिर २८ गते जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

 रामबहादुर बम्जन पक्राउ

गत पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गर्यो।  उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो।

बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका उनीपछि उनी विवादमा फसेका थिए।  उनले आश्रममा यौन शोषण गरेको लगायतका उजुरी परेकाले सोही उजुरीका आधारमा पक्राउ गरिएको थियो। हाल बम्जन पुर्पक्षका लागि थुनामा छन्।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध त्यहाँबाट पक्राउ पुर्जी जारी भएको थियो। 

६० केजी सुन प्रकरण

साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शु राजस्व अनुसन्‍धान विभागले बरामद गर्‍यो। हङकङबाट आएको उक्त ब्रेक-शुमा ६० किलो ७१६ ग्राम बरामद भएको थियो।

उच्च अदालत पाटनले माग १० गते ६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने र ६ अभियुक्तलाई थुनामा छाड्न आदेश गरेको थियो।  उनीहरू सबैलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने निर्णय गरेको थियो।

प्रकरणमा जोडिएका दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल,कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो भने  कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई भने थुनामा पठाउनुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको छ।

यस्तै, भेप पक्ररणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका थिए। पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा संग्लन चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका महरा गत चैत ९ गते हाजिर जमानीमा छुटेका थिए। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको थियो। सुन तस्करी प्रकरणमै उनका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामै छन्।

ललितानिवास प्रकरण

फागुन ३ गते विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र व्यवसायी मीनबहादुर गुरुङलाई दोषी ठहर गर्‍यो। उनीहरुलाई दुई वर्ष कैद र ८० लाख जरिवाना एवं बिगो असुल गर्ने फैसला गरेको थियो।

नक्कली मोही खडा गरेकोमा उनीहरू दोषी ठहर भएका हुन्।  सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृत रूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस सकिएपछि अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी सफाइ दियो।

मुगुको सामूहिक हत्या प्रकरण

मुगुमा गत कात्तिक ८ गते राति मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको धारिलो हतियार प्रहार हत्या भएको थियो। 

उक्त सामूहिक हत्यकाण्ड आफ्नै नातेदारबाट भएको थियो। पक्राउ पर्नेमा छायानाथ नगरपालिका ७ का ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र छायानाथ ६ मन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरा छन्। 

हत्या भएको ९ दिनपछि आफन्तले शव बुझेर अन्तिम दाहासंस्कार गरेका थिए। हत्या आरोपी गोपाल बोहरा र गोर्खबहादुर शाहीले श्रीदेवी बोहोरालाई घरबाहिरबाट बोलाएर ढोका खोल्न लगाई घरभित्र प्रवेश गरेको र दुबै जना मिलेर खुकुरीले टाउको र घाँटीमा प्रहार गरी सामूहिक हत्या गरेका थिए।

त्यसपछि मोबाइल तथा सुनका गरगहना लुटपाट गरी लगेका पाइएको थियो भने त्यही गहना बेचेको एक लाख ७९ हजार नगदसमेत प्रहरीले बरामद गरेको थियो। 

सहकारी प्रकरण

यो वर्ष सबैभन्दा चर्चामा रहेको अर्को प्रकरण हो सहकारी ठगी प्रकरण।  सुरूमा कुरा गरौँ। पोखराको मित्र मिलन सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको घटनाबाट। उक्त प्रकरणमा सहकारीको रकम हिनामिनामा उपसचिव, वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म थिए। प्रकरणमा उपसचिवसहित ७ जना जेल चलान भएका छन्।

त्यस्तै, अर्को सर्वाधिक चर्चामा रहेको प्रकरण हो सूर्यदर्शन सहकारी ठगी प्रकरण। गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए।

गत भदौमा सो सहकारी ठगीको विषयमा उजुरी पर्दा अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्षहरू गीतेन्द्रबाबु राई (जिबी), भूपेन्द्र राई लगायतलाई विपक्षी बनाइएको थियो। उनीहरूमध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ र भगीश्वर अर्याल पक्राउ परेका थिए।

उनीहरूलाई जिल्ला अदालत कास्कीले पुर्पक्ष थुनामा पठाउन आदेश दिएको थियो। पूर्वअध्यक्ष जिबी भने फरार छन्। उनीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ।

पछिल्लो एक वर्षमा सहकारीमा भएको अनियमिततासम्बन्धी देशभर कुल १४९ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। यो वर्ष सहकारी ठगी प्रकरणमा  २ सय ७१ जना पक्राउ परेका छन्।

हालसम्म ११ सय  १० जना आरोपीहरू फरार रहेको ढकालले जानकारी दिए। जनताको करिब ७ अर्ब रुपैयाँ बराबर जोखिममा छ।

तीनकुने सामूहिक हत्या प्रकरण

भदौ २९ गते राजधानीको तीनकुनेमा चार जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गर्‍यो।

मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

उनले मृत्यु भएका नवीन राईसँगको पुरानो दुस्मनीको बदला लिन सो घटना भएको खुलेको प्रहरीलाई बयान दिएका थिए। घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।

नवीनलाई मारे पनि प्रत्यक्षदर्शीका रूपमा अन्य रहेको र  पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको उनले प्रहरीसामू बताएका थिए।  भण्डारी हाल सुन्धारा कारागारको गोलघरमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.