|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन्।

एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो। सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ।

सहमति अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन्। 

 माओवादीबाट मन्त्री बनेका दीपेन्द्र पुन मगरलाई स्वास्थ्य र जसपाबाट मन्त्री भएका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले  विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन्।

नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ। तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागेको छैन। लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.