|

‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ वा ‘जति माया लाए पनि, जति कसम खाए पनि’ वा ‘चोट के हो, व्यथा के हो’ आदि जस्ता चार दर्जनबढी कालजयी गीतका गायक हुन्, अरुण थापा।

विक्रमको तीसको दशकमा श्रोताबीच निकै प्रिय बनेका यागक थापाले नेपाली गीत/संगीतको क्षेत्रलाई केही फराकिलो पार्न र स्तरीय बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्, गायनका माध्यमबाट।

गीत/संगीतप्रतिको अगाध प्रेमका कारण थापा नेपाली सांगीतिक क्षेत्रमा होमिएका त थिए नै, बीचमा उनको जीवनमा आइपरेको वियोगान्त घटनाले अझ उनलाई विरहका गीतका लागि चर्चित र लोकप्रिय दुवै बनाइदियो।

अरुण थापाका बुबा गञ्जु थापा नेपाल बैंकका जागिरे थिए। उनका बुबा भारतको कलकत्तामा रहेका बेला वि. सं. २००९ मा उनको जन्म भारतको कलकत्तामै भयो। बुबा नेपाल बैंकका उच्च तहका अधिकृत भएका कारण उनको बाल्यकाल आर्थिक र पारिवारिक समस्यामा परेन। सुखसयलपूर्ण बाल्यजीवन बिताए उनले।

केही समय भारतको दार्जिलिङमा अध्ययन गरेका थापाले पछि नेपाल आएर काठमाडौँको ठमेलमा रहेको जेपी हाइस्कुलबाट ०२८ सालमा एसएलसी उत्तीर्ण गरे। एसएलसी सकेपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएपछि अरुणको गायकीले प्रष्फुटित हुने अवसर पायो।

०३० को दशकको सुरुतिरै पोखराका तात्कालीन प्रतिभाशाली युवाहरू साहित्यकार सरुभक्त, गीतकार विनोद गौचन, गायक सरोजगोपाल बज्राचार्यलगायतसँग उनको संगत भयो। यता, बुबाको सम्पर्कबाट स्थापित संगीतकारहरू नातिकाजी, शिवशंकरलगायतसँग पनि उनको सम्बन्ध बढ्दै थियो।

०३० को दशकको मध्यतिर पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले गरेको एक कार्यक्रममा उनले प्रसिद्ध गायक मोहम्मद रफीले गाएको लोकप्रिय गीत ‘मेरा जीवन कोरा कागज...’ गाएपछि एउटी युवतीले उनलाई प्रेम प्रस्ताव राखिन्। ती युवतीको प्रेम प्रस्ताव स्वीकार गर्नु नै उनको जीवनको बर्बादीको यात्राको आरम्भ बन्यो।

त्यस समय उल्लिखित व्यक्तिलगायत थापासमेत मिलेर पोखरेली युवा साँस्कृतिक परिवार गठन भयो। त्यही संस्थामार्फत् थापाले पोखरामा स्टेज कार्यक्रममा आफ्नो स्वरको जादू देखाउन थाले। उनी यति प्रिय बने श्रोतामाझ कि उनी छोटो समयमै आमनेपाली श्रोताको ढुकढुकी बन्न सफल भए।

०३० को दशकको मध्यतिर पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले गरेको एक कार्यक्रममा उनले प्रसिद्ध गायक मोहम्मद रफीले गाएको लोकप्रिय गीत ‘मेरा जीवन कोरा कागज...’ गाएपछि एउटी युवतीले उनलाई प्रेम प्रस्ताव राखिन्। ती युवतीको प्रेम प्रस्ताव स्वीकार गर्नु नै उनको जीवनको बर्बादीको यात्राको आरम्भ बन्यो।

उनलाई प्रेम प्रस्ताव राख्ने युवती थिइन्, राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य सचिव विनोदशंकर पालिखेकी बहिनी बिमला पालिखे। बिमलासँगको प्रेम विवाहमा परिणत त भयो, तर बिमलाको परिवारले यसलाई मनपराएन। अरुणका मीत गायक ओमविक्रम विष्टलगायत केही नजिकका साथीमाझ गुह्येश्वरीमा उनीहरूले विवाह गरे। तर निकै जोड गरेर अनेक बहानामा पालिखे परिवारले अरुणबाट बिमलालाई छुटाई छाड्यो।

अब भने अरुणको जीवन अन्धकारको यात्रातर्फ मोडिन थाल्यो, एउटा चम्किलो गायकबाट। उनी हरेकजसो समय नशामा लट्ठिन थाले। वियोग र विरहको मनोदशाबाट उनलाई त्यही नशाले मात्र छुटाउन सक्थ्यो। बीचमा एक महिला उनको जीवनमा आइन्– ललितपुरकी मुना केसी।

०४० मा मुना र अरुणबाट एउटी छोरी जन्मिइन्। अरुणको लागूऔषधको लतका कारण बुबाले जोडिदिएको सम्पत्ति पनि बेचे र कोठा भाडा लिएर बस्न थाले। एकातिर भएको सम्पत्ति सकिएको, अर्कोतर्फ लागूऔषधको लतबाट अरुण बाहिर आउन नसकेको अनि अभाव र उत्पीडनको जिन्दगीबाट दिक्क भएर छोरी जन्मिएको चार वर्षपछि मुनाले पनि अरुणलाई छाडिन् र पछि अर्कै विवाह गरिन्। 

मुनाले अरुणलाई त्यागिदिइन् तर अरुणले नशा वा लागूपदार्थ त्याग्न सकेनन्। सामान्य नशाको सेवन बिस्तारै हिरोइन, सिरिन्ज, फेन्सिडिलसम्म पुग्यो। ०४५ सालमा लागूऔषध प्रयोगकै कारण अरुण केही महिना जेलसमेत बसे।

०३२ सालमा आश्विन गुरुङको शब्द र उनकै मीत ओमविक्रम विष्टको संगीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने...’ बोलको गीत रेकर्ड गराएका अरुणले यसपछि ‘ऋतुहरूमा तिमी...’, ‘जति माया लाए पनि...’ लगायतका गीत रेकर्ड गराए। यी गीतको लोकप्रियता निकै माथि पुग्यो। पछि आफ्नै जीवनसँग मेल खाने गीत गाए उनले, गीतकार सुवासचन्द्र ढुंगेलका शब्दमा– ‘चोट के हो, व्यथा के हो...।’ यी एकपछि अर्को गीतले उनलाई नेपाली सांगीतिक क्षेत्रमा माथि नै तानिरहे अर्थात् चर्चित र लोकप्रिय नै बनाइरहे।

गीतकार सुवासचन्द्र ढुंगेलकै शब्दमा भन्ने हो भने उनले आफू जुन र जस्तो जीवन बाँचे, त्यस्तै गीत मात्र छाने र गाए अनि लोकप्रिय पनि भए। अझ बिमलासँगको बिछोडपछि भने उनी निकै भावुक र विक्षिप्त जस्तै बने र विरहका गीतहरू नै बढीजसो गाउन थाले।

उनले गीत छनोटमा निकै ध्यान दिने गरेको उनका समकालीन साथीहरू बताउँछन्। गीतकार ढुंगेल थापालाई ‘चुजी’ गायक भन्छन्। जस्ता पायो त्यस्तै शब्द उनले मनपराउँदैनथे रे! त्यही भएर पनि उनले गाएका अधिकांश गीत निकै लोकप्रिय छन्। स्वर सम्राट नारायण गोपालले समेत अरुणलाई चुजी गायक भन्ने गर्थे रे!

गायक थापाको स्वरमा अनौठोपन छ। भिन्न प्रकारको आवाजले गर्दा पनि थापाका गीतको स्वाद फरक किसिमको भएको महसुस हुन्छ श्रोतालाई। शब्द छनोट, संगीतको प्याटर्न र आवाजको फरकपनका कारण पनि अरुण थापाको गायकीले राम्रै चर्चा र लोकप्रियता कमाएको बताउँछन् उनलाई चिन्नेहरू।

सन् २००३ मा बीबीसी विश्व सेवाले गरेको सर्भेक्षणमा अरुणले गाएको गीत ‘ऋतुहरूमा तिमी...’ उत्कृष्ट सातौँमा पर्नुले पनि उनको गायकी कति सशक्त थियो भन्ने बुझ्न सकिन्छ।

अरुण थापा जीवनको उत्तराद्र्धमा निकै गलिसकेका, विक्षिप्त र कमजोर बनिसकेका थिए। बागबजारको एउटा गेष्ट हाउसमा बस्दै आएका थापा लागूऔषध सेवनकै कारण ०५६ साउन ५ गते यस संसारबाट बिदा भए, केही थान कर्णप्रिय गीत र अजम्बरी भाका अनि अमर स्वर हामीलाई छाडेर।

नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो गायकीमार्फत् महत्त्वपूर्ण योगदान दिएका अरुण थापालाई राज्यस्तरबाट उचित सम्मान हुनसकेन। उनी दिवंगत भइसकेपछि उनको शवलाई प्रज्ञाप्रतिष्ठानमा राख्नसमेत अनुमति दिइएन। 

उनको सम्झना र सम्मानका खातिर सरकार रत्ति पनि सचेत र जागरुक हुन नसक्नु एउटा स्रष्टाप्रतिको बेवास्ता हो, भलै उनका केही कमीकमजोरी थिए, जो हरेकजसो मानवमा हुन्छ नै। स्रष्टालाई सिर्जनाका कोणबाट हेरिनुपथ्र्यो, तर अरुण थापाका विषयमा यसो हुनसकेको पाइँदैन।

थापाको १९औँ स्मृति दिवशको सन्दर्भमा लोकप्रिय गायक, अदभूत प्रतिभा स्वर्गीय अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जलि।

'चोट के हो, व्यथा के हो'का सर्जक भन्छन्: 'अद्वितीय प्रतिभा हुन् अरुण'
अरुण थापासँग मेरो चिनजान ०४० सालदेखिको हो। उनी त्यस समय सोल्टी क्यासिनोमा काम गर्थे। मेरा एकजना दाजु पनि त्यहीँ काम गर्ने र म गीतलेखनमा रुचि राख्ने हुँदा उनै दाजुमार्फत् अरुणसँग मेरो भेट भएको हो।
अरुण थापा संगीतलाई राम्ररी बुझेको मान्छे हो भन्ने लाग्छ मलाई। उनले आफूले गाउने गीत निकै मिहिनेतपूर्वक छान्ने गर्दथे। जो पायो त्यसले लेखेका, जस्ता पायो त्यस्तै वा आफ्ना नजिकका भएका भरमा वा कसैको सिफारिसका भरमा उनले कुनै पनि गीत गाएनन्। यसबाटै प्रस्ट हुन्छ कि अरुणमा संगीतचेतना अत्यन्तै सबल र सशक्त थियो।
साँच्चै भन्दा मैले देखेका गायक गायिकामा नारायण गोपाल, दीप श्रेष्ठ र दीपक खरेलपछिका ‘चुजी’ गायक अरुण नै हुन्। उनी कुन गीत चल्छ वा श्रोताले मनपराउँछन् र कालजयी हुन्छ, कुन हुँदैन भन्ने कुरासमेत गीत हेर्नेबित्तिकै भन्न सक्थे। यो उनको गीत/संगीत चेतनाको सशक्त प्रमाण हो।
उनले मेरा पाँचवटा गीत गाउने तयारी गरेका थिए यद्यपि तीनवटा मात्र रेकर्ड हुनसके। ‘चोट के हो, व्यथा के हो’, ‘पारि गयौ’ र ‘अरूसँग नजोख मलाई’ गरी तीनवटा गीत अरुणको स्वरमा रेकर्ड हुन सफल भए मेरा। र, मलाई नेपाली गीतिक्षेत्रमा स्थापित गराउन पनि महत्त्वपूर्ण रहे यी गीतहरू।
संगीतकार शिलाबहादुर मोक्तानको संगीत र मेरो शब्द रहेको ‘पिएर आँसु आफ्नै आँखाको म प्यास मेटुँला, गयौ ठीकै छ तिमीलाई अर्को जन्म म भेटुँला’ बोलको गीत अरुणले गाउन तयार पारिएको भए पनि उनको स्वास्थ्य अवस्था कमजोर भइसकेका कारण गाउन सकेनन्। पछि यही गीत उमेश पाण्डेको आवाजमा रेकर्ड गरियो। वास्तवमा अरुण थापा नेपाली संगीतका क्षेत्रमा अद्वितीय प्रतिभा हुन् जस्तो लाग्छ।
उनको आवाजको फरकपन, उनमा भएको उच्चसांगीतिक चेत र शब्दमा नभई भावमा डुबेर गाउन सक्ने क्षमता विरलै गायक गायिकामा पाउन सकिन्छ। उनको जीवनको अन्तिम क्षणसम्म नै मैले उनीसँग नजिक भइरहने अवसर पाएँ। अन्तिमका केही समय उनी विक्षिप्त अवस्थामा घरबाहिर रहे। त्यसबेला भेट हुन सकेन। उनको घरपरिवारसँग पनि मेरो राम्रै सम्बन्ध रह्यो।
पहिलो विवाह गरिएकी श्रीमतीलाई उनको परिवारले उनीबाट छुटाएर लगेपछि अरुण कुलतमा फसे। दोस्रो विवाह पनि सफल हुनसकेन। पछि उनी घरपरिवारबाट पनि टाढा भए र अन्त्यमा एउटा प्रतिभाशाली गायकको असमयमै कुलतकै कारण निधन भयो। हामीले एक सशक्त प्रतिभालाई सधैँका लागि गुमायौँ। नेपाली संगीत क्षेत्रले अपूरणीय क्षति व्यहोर्‍यो।
हरेक व्यक्तिका राम्रा, नराम्रा पक्ष वा गुण र अवगुण हुन्छन् नै। अरुणका पनि केही नराम्रा पक्ष थिए। तथापि, अब उनका नराम्रा पक्ष सम्झिएर उनीप्रति अन्याय र अपमान गर्नुभन्दा राम्रा पक्ष वा गुणलाई सम्झिएर उनको नेपाली संगीतप्रतिको समर्पण र योगदानलाई कदर गर्दै उनीप्रति श्रद्धा व्यक्त गर्नुमा नै नेपाली गीत संगीत क्षेत्र धन्य हुनेछ। एक युगका स्मरणीय प्रतिभा अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जलि।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.