|

काठमाडौं :  काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ११ औं इक्यान शैक्षिक मेला सुरु भएको छ। उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई विस्तृत जानकारी दिने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले मेला आयोजना गरेको हो।

भृकुटीमण्डपमा शुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गरे। उनले शिक्षाको माध्यमबाट नेपाल र श्रीलंकाको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने बताए।

मेलामा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थी र उनीहरुका अभिभावकलाई आवश्यक सबै खालको जानकारी दिने व्यवस्था मिलाइएको इक्यानका प्रथम उपाध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए। मेलामा विदेशका प्रतिष्ठित कलेजहरुको पनि सहभागिता रहेको छ।

मेलामा स्वदेश र विदेशका गरी ३७० कक्ष राखिएको छ। आइतबारसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता रहेको छ । मेलाको २ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ। इक्यानले हरेक वर्ष उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरुलाई शैक्षिक परामर्श दिन मेला आयोजना गर्दै आएको छ।

कार्यक्रममा शिक्षा विभाग शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख तारानाथ निरौलाले मेलाले विद्यार्थीलाई विदेशका शिक्षा प्रणालीको बारेमा जानकारी गराएर सहयोग पुर्‍याउने बताए।  नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधार, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष भवानीश्वर गौतमलगायतले सङ्घले विदेशमा रहेका दक्ष विद्यार्थीलाई नेपाल फर्काउनुपर्ने धारणा राखे।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन मेला आयोजना गरिएको बताए। मेलामा पहिलो दिनदेखि नै अवलोकनकर्ताको भीड लागेको छ।

हेर्नुस् फोटोहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.