|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले हलगोरुको विषय उठाए। उनले हलगोरुकै कारणले केही स्थानीय तहमा राप्रपाले चुनाव हारेको दावी गरे।

गाई चुनाव चिह्न रहेको राप्रपाले स्थानीय चुनावको मतपत्रमा उम्मेदवार नै नरहेको हलगोरु चुनाव चिह्न पनि राखिएका कारण मतदाता झुक्किएको र धेरै मत बदर भएको दावी गरेको छ। यस विषयमा केन्द्रीय कार्यसमिति बैठकमा पनि छलफल भएको अध्यक्ष थापाले जानकारी दिए।

'मतपत्रमा उम्मेदवार नै नभएको हलगोरु चुनाव चिह्न राखिएको छ, हलगोरु र गाई उस्तै उस्तै देखिएको हुँदा यसपटकको चुनावमा हजारौं हजार मत बदर भएको छ,' उनले भने 'उम्मेदवार नै नभएको हलगोरुमा धेरै भोट गएको छ।'

यसको प्रत्यक्ष प्रभाव राप्रपालाई परेको र केही गाउँपालिका र नगरपालिकामा यही कारण हार्नुपरेको थापाले बताए। 'त्यसैले उम्मेदवार नै नभएको हलगोरु चिह्न हटाइदिन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ' उनले भने।

हल गोरु चुनाव चिह्न तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको हो। तर हाल तमलोपासहितका ५ दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी निर्माण भएको छ र उसले आफ्नो चुनाव चिह्न छाता राखेको छ। निर्वाचन आयोगले राजपाले हलगोरु चुनाव चिह्न नै लिएर निर्वाचनमा सहभागी हुन पाउने बाटो खुला गरे पनि पहिलो र दोस्रो चरणको चुनावमा उक्त दलले निर्वाचन बहिस्कार गरेकाले उसको उम्मेदवार थिएन। तर संसदमा प्रतिनिधित्व गर्ने सबै दलको चुनाव चिह्न मतपत्रमा राख्ने व्यवस्था अनुसार निर्वाचन आयोगले हल गोरु चुनाव चिह्न पनि मतपत्रमा समावेश गरेको छ।

साउन ५ गतेदेखि शुक्रबार विहानसम्म बसेको राप्रपा केन्द्रीय समितिको बैठकले संविधान संशोधनमा सहयोग गर्ने निर्णय गरेको छ। सरकारमा सहभागी हुने विषयमा भने निर्णय गरेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.