|

रुकुम : जिल्लामा एक महिना बढी समय देखि हवाई सेवा बन्द छ। असार लागे लगत्तै वर्षा र खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको हो। 
हवाई सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै मार बिरामीहरुलाई परेको छ।

नेपाल वायु सेवा निगम रुकुमका निमित्त प्रमुख रमेश पोखरेलले वर्षा तथा प्राविधिक कारणले गर्दा रुकुममा लामो समयदेखि उडान हुन नसकको जानकारी दिए। 

‘प्राविधिक कारण भनेर उडानहरु भएका छैनन्,’ उनले भने,‘धेरै यात्रुहरुले फोन गरेर जहाज कहिले आउँछ भनी सोधेर हैरान पारेका छन्। तर जहाज रुकुम आउने सेड्युल नै छैन।’

रुकुममा सल्ले र चौरजहारी गरि २ वटा विमानस्थल छन्। अहिले दुबै विमानस्थलमा हवाइ सेवा अवरुद्ध छ। जसका कारण राजधानी काठमाडांै र नेपालगञ्जसम्मको यात्रा गर्न यात्रुहरु सडकको प्रयोग गर्छन्। 

हिलाम्ये छन् सडकहरु 

वर्षातका कारण सडकरु हिलाम्ये र असुरक्षित छन्। सडक बिग्रिएका कारण यात्रुहरुलाई रुकुमबाट नेपालगन्ज आउनै झन्डै १ दिन तथा त्यहाँबाट काठमाडौं आउन थप १ दिन लाग्छ। 

लामो यात्रा गर्नुपर्दा विशेषगरी सुत्केरी, आकस्मिक बिरामी बालबालिका र वृद्धवृद्धालाई समस्या छ। 

रुकुम चौरजहारी नगरपालिका ८ का गोपाल रेग्मीले चौरजहारी विमानस्थलमा हवाई सेवा अवरुद्ध हुँदा रुकुम, सल्यान तथा जाजरकोटका तत्काल उपचार गर्नुपर्ने बिरामी सहितका अन्य यात्रुहरु दुखदायी लामो सडक यात्रा  गर्नुपर्ने बताए।

‘दुर्गमका यात्रुहरुलाई सहजताका लागि हवाई सेवाको बिस्तार त गरियो तर प्रभावकारी रुपमा सेवा उपभोग गर्न जनताहरुले पाइरहेका छैनन्’ उनले भने, ‘निगमले तत्काल रुकुमका दुबै विमानस्थलबाट सेवा दिनुपर्छ, किनकी न यहाँ यातायातको राम्रो सुबिधा छ नत अन्य कुनै उपाय।’ 

रुकुममा निगम बाहेक अन्य कुनै पनि निजी हवाईजहाज कम्पनीहरुले उडान भर्ने गरेका छैनन्। यसअघि रुकुमबाट काठमाडौं र नेपालगञ्ज गरी हप्तामा दुई पटक उडान हुदै आएको थियो। 

पहिरोका कारण थप सास्ती 

हिलाम्ये रहेका सडकमा बेला–बेलामा पहिरो खस्‍ने हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सल्यान–रुकुम सडकखण्डमा वर्षातका कारण बेला बेला पहिरो खस्‍ने गरेको स्थानीय बताउँछन्।

वर्षाका कारण जिल्लाका धेरै ठाउँमा ग्रामिण सडक पनि बन्द छन्। जसका कारण बिरामीलाई सदरमुकाम खलंगासम्म बोकेरै ल्याउनुपर्ने बाध्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.