विराटनगर जुटमिल सोमबारदेखि मर्मत सुरु हुँदै

|

विराटनगर : यहाँको जुटमिल संचालनका लागि मर्मत सम्भार गर्न प्राविधिक टोली विराटनगर आइपुगेको छ। टोलीले आउँदो सोमबारदेखि नियमित काम गर्ने जुटमिलका प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताए। ‘प्राविधिक टोली विराटनगर आइपुगेको छ,’ उनले भने, ‘सोमबारदेखि सामान खरिद गर्ने र मर्मत सम्भारको काम सुरु हुन्छ।’

मिल्सका मेसिन तथा पार्टपुर्जाको मर्मतका लागि इन्जिनियर सौरभ विष्टको नेतृत्वमा प्राविधिक टोली आएको हो। इन्जिनियर सौरभ काठमाडौं विश्वविद्यालयमा आबद्ध छन्। मिल्समा ६० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपूर्जा खराब अवस्था रहेको छ। कम्तीमा १० करोड मूल्यका नयाँ पार्टपुर्जा ल्याउनुपर्ने अनुमान गरिएको काफ्लेले बताए।

भारतको औद्योगिक समूह विनसम इन्टरनेशनलले २०७१ असोज १८ गते देखि उत्पादन बन्द गरेपछि जुट मिल अझै बन्द अवस्थामा छ।

जिम्मेवारी हेरफेर

यसअघि सञ्चालक समितिका अध्यक्ष रहेका निलहरि काफ्लेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको छ। सञ्चालक समितिको अध्यक्षमा भने वसन्त वन चयन भएका छन्।

नेपालकै जेठो उद्योगका रूपमा चिनिँदै आएको विराटनगर जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई चयन गरेको प्रबन्धक काफ्लेले बताए। उक्त मिल सञ्चालनका लागि भन्दै तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले निलहरि काफ्लेलाई २ वर्षअघि अध्यक्षमा नियुक्ति गरेका थिए।

काफ्लेका अनुसार अध्यक्ष वनले नीतिगत कुरामा नेतृत्व प्रदान गर्नेछन् भने प्रबन्धकले कार्यकारी भूमिका निर्वाह गर्नेछ। आगामी तीन महिनाभित्र मिललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने काफ्लेको योजना छ। जुट मिल पूर्ण क्षमतामा सञ्चालन गर्दा जुटका सामग्री प्रति दिन ४५ मेट्रिक टनका दरले उत्पादन गर्न सकिने छ भने ३ हजार ५ सयले रोजगारी पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.