|

डोटी :  कमिसनको लोभमा आफूहरुलाई कमसल जग्गामा पुनर्स्थापना गराउन खोजेको भन्दै जिल्लाका मुक्त हलियाले विरोध जनाएका छन्। जिल्ला सदरमुकाम सिलगढी बजार नजिकैको जमिन छोडेर जिल्ला हलिया पुनर्स्थापना समितिले ३ घण्टाको पैदल दूरीमा पर्ने बगलेकमा जग्गा किन्न खोजेपछि उनीहरुले विरोध जनाएका हुन्।

जिल्लामा ३७ परिवार मुक्त हलिया पुनर्स्थापनाका लागि सरकारबाट आर्थिक वर्ष २०७३/७४ मा ७४ लाख रुपैयाँ प्राप्त भएको थियो। उक्त रकमबाट समितिले सदरमुकाम नजिकै ४३ रोपनी जग्गा किन्न छाडेर बगलेक गाविसमा ३० रोपनी जग्गा किन्ने तयारी गरेको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ सिलगढीको पैँयाभञ्जाङ नजिकै रहेको हर्क बोहराको ४३ रोपनी जग्गा छोडेर साविकको बगलेक गाविसमा रहेको हनुमान हर्टिकल्चरको नाममा रहेको सांसद मोहन बमको जग्गा किन्ने तयारी गरेको हो।

हनुमान हर्टिकल्चर फर्मको जग्गा खरिदका लागि पुनर्स्थापना समितिले निर्णय गरे पनि त्यस जग्गा मुक्त हलियाका नाममा नामसारी भएको छैन। तर जिल्ला मापपोत कार्यालय डोटीबाट हनुमान हर्टिकल्चरको नाममा ७४ लाख रुपैयाँको चेक काटिसकिएको छ।

सदरमुकाम नजिकैको जग्गाका जग्गाधनी हर्क बोहराले हलिया र आफूबीचमा जग्गा लेनदेनको पक्रिया अन्तिम चरणमा हुँदा पुनर्स्थापना समितिले अर्कै जग्गा प्रस्ताव गरेको बताए। उनले भने ‘ म ७४ लाखमा जग्गा दिन तयार छु, हलिया पनि मेरो जमिनमा बस्न तयार छन्। लिने र दिनेबीचमा सहमति भएको छ भने बीचमा अर्कै व्यक्तिसंग जमिनको कुरा गर्ने कार्यदलको नियत के हो?’

समय घर्काउदै आर्थिक वर्षको अन्तिम समयमा जग्गा किन्ने सहमतिका लागि मुक्त हलियालाई दबाब दिइएको पूर्वीचौकी गाउँपालिका २ कि बिस्ना बिकले बताइन्। उनले भनिन् ‘हामीलाई जग्गा मालिक बोलाएर ल्याउनु भने, हामी बिहान कार्यालयमा पुग्दा हाकिम र हलियाका अध्यक्ष अर्कैको जग्गा नाप्न पुगेका रहेछन्।’

हलियालाई हनुमान हर्टिकल्चरको जग्गा अस्वीकार गर्दा पुनर्स्थापना पनि नहुने र अर्को पटक ढिलो गरी पुनर्स्थापनामा पर्ने चिन्ता परेको मुक्त हलिया धनबहादुर बिकले बताए। बिकले भने ‘ हामीलाई अफ्ठयारो ठाउँमा ल्यायर फसाइयो, कार्यदलको निर्णय मानौं पुरानै रावते जिन्दगी बित्ने भयो। नमानौं भने हाम्रो नाममा आउन लागेको रकम फ्रिज हुन्छ।’

प्रतिवेदन भन्दा बाहिरको जमिन 

२०७३ फागुन महिनामा हलिया पुनर्स्थापनाका लागि बनेको जग्गा खरिद सहजीकरण उप समितिले जिल्लाका ५ स्थान जग्गा खरिद गर्न सक्ने भन्दै सिफारिस गरेको छ। उपसमितिले सिफारिस गरेको जमिनमध्ये हलियाको रोजाईमा सदरमुकाम नजिकैको जमिन रहेको थियो।

जिल्ला पुनर्स्थापना समितिले खरिद गर्न लागेको हुनमान हर्टिकल्चरको नाममा रहेको जग्गा खरिदका लागि उपसमितिले पनि सिफारिस नगरेको पाइएको छ। हलियाको रोजाइमा पनि नपरेको, प्रतिवेदनमा सिफारिस नभएको ग्रामीण क्षेत्रमा गएर जग्गा खरिद गर्न लागेकाले कमिसनको आशंका गरिएको छ।

बाटो नभएको बाहना

सिगलढी सदरमुकाममा रहेको जमिनमा बाटो नभएको भन्दै पुनर्स्थापना समितिले पञ्छाएको छ। सदरमुकाम नजिकै भएको जमिनमा बाटो नभएका कारणले खरिद गर्न नसकिएको पुनर्स्थापना कार्य समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। उनले भने ‘ बाटो नभएको जमिन खरिद गर्न सम्भव भएन, त्यसैले हामीले वैकल्पिक व्यवस्था गरेका हौं।’

कार्यदलले बाटो नभएको ठहर गरे पनि उक्त जग्गा मालिकले जसरी पनि जमिनमा सडक पुर्‍याउने प्रतिवद्धता ब्यक्त गरेका थिए। कार्यदलको रोजाईमा परेको जमिन सडकमा जोडिएको भए पनि खानेपानी, बिजुली, शिक्षा स्वास्थ्य र भूगोलका आधारमा विकट रहेको छ।

समितिले चैत २४ गते सिलगढी नगरपालिकाको बाटो नभएको प्रतिक्रिया दिएको दोसो दिनमा नगरपालिकाले नक्सामा उक्त जमिनमा चलनचल्तीको गोरेटो बाटो रहेको दिपायल सिलगढी नगरपालिका कार्यालयले सिफारिस गरेको छ।

ठूलाबडाका कारण मुक्त हलियाका लागि आएको रकम फ्रिज जाने अवस्थामा पुगेको मुक्त हलिया बिस्नाले बताइन्। ‘हामी सबै सदरमुकाम नजिकैको जमिनमा बस्न राजी थियौं, हलियाका नेता र हाकिम मिलेर अर्कैको जग्गा पास गर्ने तयारी गर्‍यो, हामीलाई अरु थाहा छैन हामीलाई पुनर्स्थापना हुन पर्‍यो, राम्रो ठाउँमा बस्न पाउन पर्‍यो।’

हिउँदमा खारो पर्ने, जंगल भएको जमिनमा आफूलाई ईच्छा नभएको ७० वर्षीय भागा बिकले बताइन्। भागाले भनिन् ‘ जंगलमा बस्नुपर्ने भए के को पुनर्स्थापना भएको मान्ने? सरकारबाट आएको पैसाले हामीलाई राम्रो व्यवस्था हुनपर्छ हामीलाई ठग्न पाइन्न।’

हलिया पुनर्स्थापनाका लागि आएको बजेट हलियाबीचमा भएको विवादका कारण फ्रिज हुने भएको जिल्ला मातपोत कार्यालय डोटीका कार्यालय प्रमुख तथा पुनर्स्थापना कार्य समितिका सदस्य सचिव सुनिलसागर जोशीले बताए। थाहाखबरसंग जोशीले भने ‘चुनावका कारण काम ढिलो भयो, जग्गा खोज्ने उहाँहरुको जिम्मेवारी हो, हाम्रो होइन सामूहिक बस्ती निमार्ण गर्ने भएकाले हामीले खोजेका हौं।’

हलियालाई अरुले उक्साउने गरेकाले निर्णय गर्न समस्या भएको मुक्त हलिया समाज डोटीका अध्यक्ष भीम सार्कीले बताए। उनले भने ‘हामी सामूहिक बस्ती निर्माण गर्ने पक्षमा छौं, उहाँहरु कै सहमतिमा लगेर हनुमान हर्टिकल्चरको जमिन खरिद गर्ने निर्णय भएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.