|

जाजरकोट : जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका छन्।

जिल्ला समन्वय समितिमा माओवादी केन्द्रले प्रमुख सहित ४ जना तथा नेपाली कांग्रेसले उपप्रमुख सहित ५ जना सदस्य लिने सहमति भएको कांग्रेसका जिल्ला सभापति दीपकजंग शाहले बताए।

माओवादी केन्द्रबाट प्रमुखमा त्रिवेणी नलगाड नगरपालिकाका मनबहादुर रावल, खुल्ला सदस्यमा जुनिचाँदे गाउँपालिकाका वीरबहादुर रावत,  महिला सदस्यमा कुशे गाउँपालिकाबाट सरस्वती विष्ट र छेडागाड नगरपालिकाका गरिमा शाही रहेका छन्।

नेपाली कांग्रेसका तर्फबाट उप प्रमुखमा भेरी नगरपालिकाका ज्ञानीप्रसाद शर्मा,  खुल्ला सदस्यमा भेरी नगरपालिकाकै तेजविक्रम शाह, कुशे गाउँपालिकाका कल्दर सिंह, दलित अल्पसंख्यकमा कुशे गाउँपालिकाका जनकबहादुर वादीले मनोनयन दर्ता गराएको सभापति शाहले जानकारी दिए।

त्यस्तै नेकपा एमालेले पनि जिल्ला समन्वय समितिमा एकल उम्मेदवारी दिएको छ। एमाले तर्फबाट प्रमुखमा भेरी नगरपालिकाका गौरीबहादुर कार्की, उप प्रमुखमा जुनिचाँदे गाउँपालिकाकी कमला शाही, खुल्ला सदस्यमा वारेकोट गाउँपालिकाका भक्तबहादुर बस्नेत, त्रिवेणी नलगाड नगरपालिकाका भीमबहादुर मल्ल र जुनिचाँदे गाउँपालिकाका गणेशप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाटै महिला सदस्यमा त्रिवेणी नलगाड नगरपालिकाकी लक्ष्मी विक, छेडागाड नगरपालिकाका ज्ञान रावत, भेरी नगरपालिकाका सीता बस्नेत तथा दलित अल्पसंख्यकमा कुशे गाउँपालिकाका कामी विकले मनोनयन दर्ता गराएको जिल्ला नेता कमानबहादुर खड्काले जानकारी दिए।

१४ मतदाता रहेको जिल्ला समन्वय समितिमा नेकपा एमालेबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना र नेपाली कांग्रेसबाट ३ जना मतदाता रहेका छन्। ७ वटा स्थानीय तह रहेको जाजरकोटमा एमालेले ३ तहमा प्रमुख र उप प्रमुख, माओवादीले २ तहमा प्रमुख र उप प्रमुख र एक तहमा उप प्रमुख जितेको थियो। नेपाली कांग्रेसले भने एक तहमा प्रमुख र उपप्रमुख तथा एउटामा प्रमुख जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.