|

भक्तपुर : जनै पूर्णिमाको अवसरमा भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन कालदहमा सोमबार बिहानैदेखि स्नान गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ। ताल, कुण्ड तथा पोखरीहरुमा स्नान गर्ने जनै पूर्णिमाका अवसरमा रसुवाको गोसाईंकुण्ड जान नसकेका भक्तपुरवासी कालदहमा स्नान गर्न जाने प्रचलन रहेको छ। कालदहमा स्नान गरे पनि गोसाईंकुण्डमा स्नान गरेजतिकै पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ।

नेवारी भाषामा गोसाईंकुण्ड तीर्थ जाने प्रचलनलाई ‘सिलु’ जाने भनिन्छ। जनै पूर्णिमामा रसुवाको गोसाइँकुण्डमा ठूलो मेला लाग्दछ। गोसाईंकुण्डमा साक्षात महादेवको दर्शन पाइने जनविश्वास रहेको छ। त्यसैले परापूर्वकालदेखि महिनौं लगाएर गोसाईंकुण्ड तीर्थ जाने प्रचलन रहेको संस्कृतिविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। गोसाईंकुण्ड तीर्थ जाने नेवारी प्रचलनबारे नेवारी भाषामा कथानक चलचित्र ‘सिलु’ समेत निर्माण भइसकेको छ।

यसवर्ष आज चन्द्रग्रहण परेकोले नाग पञ्चमीको दिन जनै फेरियो

गोसाईंकुण्ड जान नसक्ने भक्तपुरका स्थानीय बासिन्दाहरु कालदहमा स्नान गरेर दरबार स्क्वायरमा अवस्थित सिलु महादेव (फसी देगः) को दर्शन गर्ने प्रचलन रहेको छ। कालदहमा स्नान गरी दहको बीच भागमा रहेको महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पूण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ।

कालदहमा स्नानपछि भक्तजनहरु जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन्। तर, यसवर्ष आज चन्द्रग्रहण परेको कारण पञ्चाङ्ग समितिको निर्णयानुसार गत नाग पञ्चमीको दिन नै रक्षाबन्धन पर्व मनाउँदै सोही दिन जनै फेर्ने र हातमा डोरो बाँध्ने काम गरेका थिए।

नगरकोटमा धामी झाँक्रीहरुको मनमोहक दृश्य

त्यसैगरी आजै नगरकोटस्थित भ्यु टावरनजिक रहेको महादेव पोखरीमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ। नगरकोटमा विशेष गरी तामाङ बस्ती भएकाले महादेव पोखरीमा स्थानीय तामाङ झाक्रीहरुको विशेष मेला लाग्ने गर्दछ।

तामाङ झाँक्रीहरु परम्परागत भेषभुषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्न आउने गर्दछ। जुन दृश्य अत्यन्त मनमोहक हुने गरेको छ। समूह समूहमा आउने त्यस्ता लामा गुरुहरुको नाचले मेलालाई आकर्षण बनाउने गर्दछ। आजको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ।

महादेव पोखरीलाई गोसाईंकुण्डको प्रतीकको रुपमा लिइन्छ। महादेव पोखरीमा स्नान गरी महादेवको दर्शन गर्न साँखु, बनेपा, काठमाडांै, ललितपुर र भक्तपुरका भक्तजनहरुको घुइँचो लाग्ने गर्छ।

पौराणिक कथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाईंकुण्डतर्फ जानेक्रममा नगरकोटमा वास बसेको विश्वासमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको प्राडा. श्रेष्ठले जानकारी दिए। गोसाईंकुण्ड जान नसक्नेहरुले सो कुण्डमा स्नान गरे पनि गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने जन विश्वास रहेको पाइन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.