|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा बाढीपहिरोबाट पीडित नागरिकको उद्दार तथा राहतलाई तीब्रता दिन सरकारका प्रमुख निकायका प्रमुखको बैठक डाकेका छन्। प्रधानमन्त्रीले आफ्नो सरकारी निवास बालुवाटारमा रक्षा मन्त्री र गृहमन्त्रीसहितको बैठक डाकेका हुन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री देउवाले रक्षामन्त्री भीमसेनदास प्रधान र गृहमन्त्री जनार्दन शर्मासहित चार सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको दैवी प्रकोप उद्दार महाशाखाका प्रमुख र अन्य सम्बन्धित अधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।

गृहमन्त्रालयका अनुसार केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने कतिपय मानिस बेपत्ता छन्। उद्दार र राहतको काम पनि खराब मौसमका कारण प्रभावकारी हुन नसकेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन्।

 सुरक्षा निकायको एकीकृत परिचालन

सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ। 

गृहमन्त्रालयले शनिबार सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो।

झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालयले आग्रह गरेको बताए।

देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.