|
फाइल फोटो थाहाखबर

रौतहट : परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आइतबार बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ। 
प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवारका सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रादेवी, पाँचवर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउज्यू ललितादेवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटामा दुर्घटना भएको स्थानीयवासी शेष वकिलले जानकारी दिए।

इलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक शनिबार वर्षाको पानीले १ सय मिटर बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जिप दुर्घटना भएको जनाइएको छ। उक्त जिपका चालक फरार रहेका छन्।

यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ। सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका– तीन वडाका बासिन्दा बाढीको घेरामा परेका छन्।

यसैबीच नेकपा माओवादी केन्द्रले बाढी प्रभावित क्षेत्रमा आजदेखि राहत वितरण शुरु गरेको छ। केन्द्रले आज चन्द्रपुर नगरपालिकाका बालचनपुर, बलुवा, घाँगीटोल, पडरियामा राहत वितरण गरेको माओवादी केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.