|

काठमाडौं : गत आर्थिक वर्षमा नेपालका थप ३ लाख घरमा विजुली पुगेको छ। नेपाल विद्युत प्राधिकरणले आफ्नो ग्राहक २९ लाख ७० हजारबाट बढाएर आर्थिक वर्ष २०७३/७४ मा ३२ लाख ६० हजार पुर्‍याएको छ। नेपालमा विजुली बिक्री गर्ने एकमात्र निकाय नेपाल विद्युत प्राधिकरण हो।

विद्युत प्राधिकरणको थपिएको ग्राहकमा केही औद्योगिक र अन्य ग्राहकहरु भए पनि धेरैजसो ग्राहक घरायसी नै रहेका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। विद्युत प्राधिकरणको २२ औं वार्षिक उत्सवको कार्यक्रममा बिहीबार उनले अहिलेसम्मका ३२ लाख ६० हजार ग्राहकमध्ये ३० लाख ६ हजार जना घरायसी ग्राहक रहेको जानकारी दिए।

प्राधिकरणले बिक्री गर्ने विजुलीमध्ये घरायसी ग्राहकले ४१.८५ प्रतिशत, उद्योगले ३५.६१ प्रतिशत र अन्य ग्राहकले २२.५४ प्रतिशत विजुली प्रयोग गर्ने घिसिङले जानकारी दिए।

प्राधिकरणको घाटा ९८ करोडमा झर्‍यो

नेपाल विद्युत प्राधिकरणले आफ्नो घाटा ९८ करोड रुपैयाँमा झारेको छ। आर्थिक वर्ष २०७२/७३ सम्म ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणले चालु आर्थिक वर्षमा घाटा रकम घटाएर ७ अर्ब रुपैयाँ घटाएर ९७ करोड ८९ लाखमा झारेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। विद्युत बिक्री र अन्य आम्दानीबाट प्राधिकरणको घाटा कम गर्न सफल भएको जानकारी दिए।

आर्थिक वर्ष २०७३/७४ को कारोबारको मात्र हिसाब गर्दा भने प्राधिकरणले २ अर्ब ४० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। नेपाल विद्युत प्राधिकरणले बर्थिक वर्ष २०७३/७४ मा ५० अर्ब २२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। जसमा खर्च कटाएर २ अर्ब ४० करोड सञ्चालन मुनाफा आर्जन गरेको हो।

आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणले वर्षमा ३ अर्ब ६ करोड रुपैयाँ नोक्शान ब्यहोरेको थियो। नेपालमा उत्पादित विजुली बढेको, भारतबाट आयातित विजुली पनि वृद्धि भएकाले प्राधिकरणको आम्दानी बढेको हो। गत आर्थिक वर्षमा भारतबाट औसतमा २ सय ५० मेगावाट विजुली खरिद गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

हाल नेपाल विद्युत प्राधिकरणले आफैले उत्पादन गरेको, निजी क्षेत्रका उर्जा उत्पादकबाट खरिद गरेको र भारतबाट आयातित विजुली बिक्री गर्ने गरेको छ। प्राधिकरणले बिक्री गर्ने विजुलीमध्ये ३६ प्रतिशत आफैले उत्पादन गरेको हो भने ३४ प्रतिशत भारतबाट आयात गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। त्यस्तै नेपालकै निजी क्षेत्रका उर्जा उत्पादकले उत्पादन गरेको विजुलीको हिस्सा २८ प्रतिशत रहेको छ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ सम्म नेपालमै उत्पादित र भारतबाट खरिद गरेको गरी ६ सय मेगावाट विजुली थपिने अनुमान गरेको छ। त्यस्तै २-३ वर्षभित्र उर्जा उत्पादन बढेर १२ सय मेगावाटसम्म पुग्ने कार्यकारी निर्देशक घिसिङले दावी गरे।

वार्षिकोत्सव कार्यक्रममा विद्युत प्राधिकरणले १५ जना उत्कृष्ट कर्मचारीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.