|

काठमाडौं : सरकारले बाढी प्रभावितका लागि तत्काल प्रति व्यक्ति दिनको ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराउने भएको छ। गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी प्रभावित क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन ७० रुपैयाँका दरले एक महिनाको खाद्यान्न खर्च एकमुष्ट नगद उपलव्ध गराउने जानकारी दिएको हो।

मन्त्रालयले खाद्यान्न सहज उपलव्ध नहुने स्थानहरूमा नेपाल खाद्य संस्थानको खाद्यान्न बिक्री केन्द्र स्थापना गरी सहज बिक्री वितरणको व्यवस्था मिलाइने पनि जनाएको छ। यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषबाट १ अर्ब रूपैयाँ निकासा भएको छ। तत्काल एक महिनाका लागि राहत उपलब्ध गराइए पनि सबै जिल्लाबाट क्षति मुल्यांकन विवरण आएपछि मात्रै तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने तयारी गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए।

त्यसैगरी केन्द्रीय दैवी प्रकोप उद्धार कोषले बाढी प्रभावितलाई ५ करोड १२ लाख रुपैयाँ राहत रकम निकासा गरेको छ। केन्द्रीय दैवी प्रकोप उद्दार कोषले जिल्लास्थित दैवी प्रकोप उद्धार कोषको खातामा ५ करोड १२ लाख रुपैयाँ राहत रकम निकासा गरेको मन्त्री शर्माले जानकारी दिए।

मन्त्रालयले अहिलेसम्म सरोकारवाला निकायहरुसँग समन्वय गरी १ लाख १७ हजार ८ सय २७ किलो खाद्यान्न सामग्री, २ हजार २ सय ७२ मण्डी, २ हजार ६ सय ८५ कार्टुन ‌‌औषधी तथा २१ जिल्लामा ५३ हजार ४ सय ५५ वटा त्रिपाल वितरण गरेको जनाएको छ।

२३ हजार ९ सय ४१ त्रिपाल अझै मौज्दात रहेको भन्दै मन्त्रालयले आवश्यक परेको स्थानमा माग भई आए उपलब्ध गराउन तयारी अवस्थामा राखिएको छ। डुवानमा परेका बस्तीमा फेरि पनि डुवानको समस्या खेप्न नपरोस् भन्ने उद्देश्य साथ नमुना शहरी विकासका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक समन्वय गर्ने तयारी पनि मन्त्रालयले गरेको छ।

मन्त्रालयले रौतहटमा बेपत्ता भएकामध्ये ५ जना सकुशल घर फर्किएको जनाएको छ। बाढीबाट ७९ हजार ८ सय १२ घर पूर्ण क्षति पुगेको, १ लाख ४ हजार ४सय २५ घरमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्रिपाल, कम्बल, मेट्रेस, चामल, पिठो लगायतका सामान वितरण गर्ने काम भएको तथा विभिन्न जिल्लाहरुमा भएको क्षतिको मूल्याङ्कन जिल्लाबाटै गरी यथासीघ्र पठाउन पनि निर्देशन दिएको मन्त्री शर्माले जानकारी दिए।

मन्त्रालयले बाढी डुवान तथा पहिरो प्रभावित जिल्लाको संख्या ३० पुगेको र १३५ जनाको मृत्यु भएको तथा ३० अझै वेपत्ता  रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.