|

काठमाडौं : संविधान संशोधनको माग राख्दै आएका मधेस केन्द्रित दलहरुले व्यवस्थपिका संसदबाट 'संविधान संशोधन विधेयक' फेल हुनुलाई 'अस्वभाविक' भनेका छन्।  

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले विधेयक फेल हुनु 'अस्वभाविक' रहेको बताए। उनले सरकारले पर्याप्त तयारी नै नगरी संविधान संशोधन विधेयक पेश गरेका कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाए।

'सहमति नगरी एक्कासी निर्णयार्थ पेश गरियो। यसमा कांग्रेस र अन्य दलहरुको स्वार्थ मिसिएको देखियो। सहमतिको वातावरण नबनाइ एक्कासी ल्याउनु हुँदैन थियो, ' उनले भने।

उनले विपक्षी एमाले र सत्तारुढ कांग्रेस-माओवादी गठबन्धनको ध्यान विधेयक पास गर्नेभन्दा पनि विधेयकलाई देखाएर निर्वाचनमा फाइदा लिनखोज्ने रहेको आरोप लगाए। 'पहिले हामीले ल्याउँदा अवरोध गर्ने विपक्षीले पनि यसपटक अवरोध गरेन। आगामी निर्वाचनको लागि फाइदा लिन खोज्ने उद्देश्यले प्रेरित छ,' उनले भने।

राजपाले भोली निर्णय लिने

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्णले पनि विधेयक  फेल हुनुलाई 'अस्वभाविक' भन्न चाहे। तर यस विषयमा उनले थप प्रतिक्रिया दिएनन्। उनले यस विषयमा भोली राजपाको बैठक बस्ने र त्यस बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।

एमाले खुसी

विधेयक असफल भएपछि प्रमुख प्रतिपक्षी एमाले निकै खुसी देखिएको छ। विगतमा संसद् बहिष्कार गर्ने मधेसवादी दलहरुले समेत संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिनु अर्को सुखद विषय रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

' देशको हित विपरित जबर्जस्ती ल्याइएको यो विधेयक असफल हुनु थियो, भयो। विगतमा संसद् बहिष्कार गर्ने र विरोध गर्ने दलहरु पनि यो विधेयकको छलफलमा भाग लिनुभयो। जून यसको सकारात्मक पक्ष हो,' नेम्वाङले भने। उनले विधेयक फेल भएपछि सरकारमाथि गम्भिर नैतिक प्रश्‍न उठेको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.