|

काठमाडौं : सोमबार संसदमा संविधान संशोधन विधेयकमाथि मतदान हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ सांसदमध्ये जम्मा १९ जनामात्र उपस्थित भए। बाँकी १८ जना भने बैठकमा सहभागी नै भएनन्। सोमबार विहान राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुन्तीकुमारी शाहीले सबै सांसद संसदमा उपस्थित भएर संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेकी थिइन्। तर १८ जना सांसदले ह्वीप उलंघन गरे।

साउन २२ गते राप्रपाबाट अलग भएको घोषणा गरी राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपतिशम्शेर राणाले आफ्नो पक्षमा २० भन्दा बढी सांसद रहेको दावी गर्दै आएका थिए। तर संशोधन विधेकयमा मतदानको दिन राप्रपाको ह्वीप उलंघन गर्ने १८ जना देखिएकाले राणाको पक्षमा त्यतिमात्रै सांसद रहेको पुष्टी हुन्छ।

को को हुन् कमल थापाको पक्षमा?

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार संसदमा मतदानमा सहभागी हुनेमा सांसदहरु कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रमबहादुर थापा, गंगाप्रसाद यादव, कुन्तीकुमारी शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ, सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्तबहादुर खपाङ्गी, श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, रामदुलारी चौधरी, श्रीकान्ति पासी, गणेश थापा र कान्ता भट्टराई रहेका छन्। 

को को हुन् राणाको पक्षमा?

सोमबार राप्रपाले जारी गरेको ह्वीपलाई वेवास्ता गर्दै संसद बैठकमा नै सहभागी नहुनेमा सांसदहरु दीपक बोहरा, विक्रम पाण्डे, सुनिलबहादुर थापा, विराज विष्ट, रेशमबहादुर लामा, विक्रम थापा, सइन्द्र वान्तवा, कमला शर्मा र भानु महरा, रामकुमार सुब्बा, वविना मोक्तान, सीता लुइँटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंह रहेका छन्। उनीहरुले पशुपतिशम्शेर राणालाई समर्थन गरेका छन्।

अब के हुन्छ?

अहिलेसम्म निर्वाचन आयोगबाट राप्रपा प्रजातान्त्रिकले नयाँ पार्टीको रुपमा मान्यता नपाइसकेको कारणले राणालाई समर्थन गरेकाहरु पनि संसदमा राप्रपाकै सांसदको रुपमा रहेका छन्। त्यसैले उनीहरुलाई अप्ठेरो पर्ने गरी राप्रपाले सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप नै जारी गर्‍यो। तर उनीहरुले ह्वीप उलंघन गरेपछि राप्रपाले कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

अनुपस्थित हुने र ह्विप उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए। 'राप्रपाले भोलि मंगलबार बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ' उनले भने 'कारबाहीबारे बैठकले निर्णय गर्छ।'

राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकको दल दर्ताको प्रक्रिया भने अझै कायमै छ। केन्द्रीय सदस्यको हस्ताक्षर सनाखतको विषयमा भएको विवादमा सोमबार सर्वोच्च अदालतले राणाको पक्षमा अन्तरिम आदेश दिँदै दल दर्ता प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ। यदि राप्रपा प्रजातान्त्रिकले छुट्टै दलको मान्यता पाएमा राप्रपाको ह्वीप उलंघन गरेका १८ सांसद नयाँ पार्टीबाट संसद सदस्य कायम रहन सक्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.