|

लहान : करिब साढे चार महिनाअघि भएको भीषण आगलागीमा सिङ्गो बस्ती नै जलेर सखाप भएपछि स्थानीय ३२ घर परिवारका दलितहरु बिचल्लीमा परे। आगलागीमा ओत लाग्ने घर, अन्नपात, लत्ताकपडा जलेपछि बिचल्लीमा परेका सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहाका दलित समुदायका ३२ घर परिवारका एक सय १६ जना अहिलेपनि त्रिपाल र टिनको छानामुनि गुजारा गरिरहका छन्।

‘चर्को गर्मी, वर्षात्मा बालबच्चा जोगाउनै मुस्किल परेको छ’ स्थानीय गीतादेवी मण्डलले भनिन् ‘खेत नजिकै त्रिपालमुनि छोराछोरीसहित रात काट्नुपर्छ, सर्प बिच्छीको त्रासमा रात बित्छ।’ उनको जस्तै अवस्था भोगिरहेकी छिमेकी राजवती मण्डलले भनिन् ‘सरकारले बनाइ दिने भनेको घर पनि डिपिसीसम्मको मात्र काम

भएको छ, वर्षात् गएको छैन, अप्ठ्यारोमा बसेका छौं।’ बस्तीमा आगलागीमा परेकामध्ये २५ घर परिवारका आगलागी पीडितहरु अझै त्रिपालमुनि गुजारा गरिरहेको सखुवा नन्कारकट्टीका पूर्वगाविस अध्यक्ष तथा समाजसेवी खुशीलाल मण्डलले बताए।

पीडितलाई डसना र तन्ना

आगलागीको चपेटामा परेको बस्तीका दलितरुलाई शुक्रबार गाउँमै एक÷एक थान डसना र तन्ना वितरण गरिएको छ। सिरहाको विभिन्न ठाउँबाट खाडी मुलुक बहराईनमा काम गरिरहेकाहरुको संस्था ‘मिथिला सेवा समाज, बहराईन’ को आर्थिक सहयोगअन्तर्गत भवानी एकीकृत विकास केन्द्र, धनगढीमाई नगरपालिका २ भवानीपुरले ३२ घर अग्नि पीडितहरुलाई डस्ना र तन्ना वितरण गरेको हो।

अग्नि पीडितहरुलाई केन्द्रका अध्यक्ष दिपेशकुमार चौधरी, सचिव रामबहादुर चौधरी, अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक राजलाल गुप्ता, वडा सचिव मो. हविव, समाजसेवी खुशीलाल यादव, प्रहरी हवल्दार कमलेशकुमार यादव लगायतले सामग्री वितरण गरेका हुन्।

यसै वर्ष घर बन्ने आश्वासन

 अग्नि पीडितहरुका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति सिरहाको पहलमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले सिम्राहामा ‘जनता आवास’ कार्यक्रम अन्तर्गत  २९ घर परिवारका लागि घर निर्माण गर्दै छ।

डिभिजन कार्यालयका साइट सहायक इञ्जिनियर रन्द्रि यादवका अनुसार आगलागीपछि प्रकृया अनुसार कामको थालनी गर्दा गत पछिल्लो आर्थिक वर्षमा डिपिसीसम्मको काम मात्र भएको जानकारी दिए। उनका अनुसार चालु आवमा क्रमागत बजेटअन्तर्गत आगलागी पीडित बस्तीको २९ वटा घर निर्माण सम्पन्न गरिने छ। हरेक परिवारका लागि शौचालयसहित दुई लाख १५ हजार दुई सय ३७ रुपैयाँको लागतमा घर निर्माण हुनेछ।

पछिल्लो चैत २८ गते साँझ बस्तीकी महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर आगालागी हुँदा बस्ती नै जलेर सखाप भएको थियो। इलाका प्रहरी कार्यालय महेशबारीका अनुसार आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा जलेर मरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.