|

लहान : मधेस आन्दोलनको उद्गमस्थल मानिने सिरहामा तेस्रो चरणको स्थानीय तह निर्वाचनको चहलपहल बढेको छ। निर्वाचनको मनोनयनको दिन नजिकिँदै गर्दा गाउँबस्तीमा राजनीतिक दलहरुको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र बनेको छ।

मूल उम्मेदवारबिनै कांग्रेसको घरदैलो

मुलुकको सबैभन्दा ठूलो र पुरानो भनिएको नेपाली कांग्रेसले सिरहाका नगर र गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु टुंग्याउन नसक्दा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु मुख्य पदका उम्मेदवारविना नै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन्।

सिरहाको लहान, धनगढीमाई, गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, विष्णुपुर, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी र अर्नमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुको नाम टुंग्याउन सकेको छैन।

‘ठूलो र पुरानो पार्टी भएकाले आकांक्षीहरुको संख्या बढी हुनु स्वाभाविक हो’ कांग्रेसका एक महासमिति सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उम्मेदवारको मनोनयनको गर्ने दिन नजिकिए पनि पार्टीभित्रको गुटको कारणले उम्मेदवारको नाम नटुङिँदा प्रचारप्रचार केही प्रभावित भएको छ।’

एमालेमा पनि अन्योल

स्थानीय तहको पहिलो र दोस्रो चरणअन्तर्गत निर्वाचन भएका जिल्लाहरुमा बलियो देखिएको नेकपा एमालेले सिरहाका १७ वटा स्थानीय तहका उम्मेदवारहरुको नाम टुंग्याएको दाबी गरेको भए पनि सार्वजनिक भने गर्न सकेको छैन। एमालेको २ नं. प्रदेश कमिटीले पछिल्लो जेठ १४ गते जिल्लाका १७ वटै स्थानीय तहका

उम्मेदवारहरुको नाम टुंग्याएको भनिए पनि केहीबाहेक अझै मुख्य पदका उम्मेदवारहरु खुला रुपले चुनाव प्रचारमा जुट्न सकेका छैनन्। सिरहाको लहान, सिरहा, गोलबजार, धनगढीमाई नगरपालिकाका प्रमुख उपप्रमुखहरुको नाम सार्वजनिक भए पनि लहानबाहेकका स्थानीय तहका उम्मेदवारहको नाम आधिकारिक नरहेको एमालेकै जिल्ला नेताले बताए।

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुख पदमा शिवशंकर महतोको नाम काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा प्रकाशित भएपछि प्रमुखका आकांक्षी एमाले जिल्ला उपाध्यक्षसमेत रहेका उत्तरबहादुर जर्घासमेत आफ्नो पक्षमा मत माग्न थालेको बताइएको छ।

मुख्य उम्मेदवारको विषयमा अन्योल रहेको भए पनि प्रचार प्रसारमा एमालेले ठूलै प्रयास गरेको छ। एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिन्ह अंकित झन्डा, ब्यानर, छ्याप्छ्याप्ती बनाएको छ।

माओवादीको जुलुससहित घरदैलो

माओवादी केन्द्रले आधिकारिक रुपमा नाम सार्वजनिक नगरेको भए पनि माओवादी केन्द्रका तर्फबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु जुलुससहित मतदाता भेटघाट, घरदैलो अभियानमा जुटेका छन्। माओवादी केन्द्रकातर्फबाट गोलबजार नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार क्रमशः देवनाथ साह र रेशमकुमारी थापा (यशु) र १३ वटै वडाध्यक्षहरु भदौ १४ गतेदेखि नै घरदैलो गरिरहेका छन्।

धनगढीमाई नगरपालिकाका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङसहित माओवादी नेता कार्यकर्ताहरुको घरदैलो अभियान नगरको सबै वार्डमा पुगिसकेको माओवादी केन्द्र प्रचारप्रचार समिति धनगढीले जनाएको छ। माओवादी केन्द्रले सिरहाको मिर्चैया, कर्जन्हासहित अन्य नगरपालिका र गाउँपालिकाहरुमा अन्तिम चरणको घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताए।

राप्रपा र मधेसकेन्द्रित दलहरु पनि प्रचारमा

तेस्रो चरणको निर्वाचनमा पार्टीलाई स्थापित गराउन राप्रपासहित मधेसकेन्द्रित दलहरु पनि गाउँ–गाउँ पुग्न थालेका छन्। राप्रपाको तर्फबाट लहान नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछिको स्थानीय निर्वाचनमा लहानमा प्रमुख जितेका लगनलाल चौधरीलाई यो पटक पनि नगरप्रमुख पदमा उठाउने तयारीका साथ प्रचारप्रसार गरिरहेको छ।

मधेसकेन्द्रित दलहरुमा उपेन्द्र यादव नेतृत्वमा संघीय समाजवादी फोरम, नेपाल, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नवगठित राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनाव प्रचार अभियानमा जुटेको छ। फोरमले सिरहाको १७ वटै स्थानीय तहको उम्मेदवारहरुको नाम टुंग्याएर प्रचारप्रसारमा जुटेको छ भने राजपाले पनि कार्यकर्ताहरुलाई चुनाव प्रचारमा खटाएको छ।

स्थानीय तहको पुनःसंरचनापछि ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहामा कायम गरिएका १ सय ६४ वटा वडामा ९ फागुन ०७३ सम्मको फोटोसहितको मतदाता नामावलीमा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेका छन्। २ असोजमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहामा ४ सय २६ वटा मदतान केन्द्र, २ सय २१ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.