खाटमाथि मान्छे खाटमुनि गोही, कुकुर पो आएर सुतेछ भनेर धपाउन खोज्दा स्वाँ गरेर झम्ट्यो,

|

चितवन : चितवनको रतननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीको बुधबार उद्धार गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर १५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार उद्धार गरी चितवनको सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वीसेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

उनका अनुसार घरको पिँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयले दिएको जानकारीका आधारमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले गोहीको उद्धार गरी राप्ती नदीमा छाडेको हो। घरको पिँढीमा रहेको गोहीलाई निकुञ्जका प्राविधिज्ञको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसेको थियो। पछि बोराले आँखा छोपेर टोलीले गोहीको उद्धार गरेको थियो।

निकुञ्जभन्दा करिब १० किलोमिटरभित्र रहेको बस्तीमा मगर गोही देखेपछि स्थानियहरु चकित परेका थिए। नजिक खोलानाला तथा घोल नभएको सो स्थानमा विहानै मगर गोही देखेपछि गाउँलेहरु नै अच्चम्मित भएको अन्नपूर्ण टोलविकास संस्थाका अध्यक्ष होमप्रसाद भट्ट बताउँछन्। गोही ९० सेन्टीमिटर लामो तथा १५,२०  किलोको रहेको निकुञ्जले अनुमान गरेको छ।

बिहान उठ्नेबित्तिकै इन्दिरा न्यौपानेले ढोका खोल्दा पिंढीको खाटमुनी घुम्रिएर सुतिरहेको वस्तु देखे। त्यही खाटमाथि उनका ससुरा हरिदत्त न्यौपाने मस्त निद्रामा सुतिरहेका थिए। लौ कुकुर पो आएर सुतेछ भनेर उनले धपाउन खोजे। ‘त्यसपछि स्वाँ... गरेर ठूलो मुख पार्यो र झम्ट्यो, न्यौपानेले भने, अनि साह्रै डर लाग्यो।’ उनले यसअघि कहिल्यै गोही देखेका थिएनन्। गोहोरो पनि सानो हुन्थ्यो। तर, यो ठूलो देखेपछि के होला भनेर हावाकावा गर्न थाले।

यसअघि, गोही देखिसकेकाले उनका श्रीमान लोकनाथ न्यौपानेले गोही भएको पुष्टि गरेपछि प्रहरी र निकुञ्जलाई खबर गरिएको रत्ननगर नगरपालिका वडा नम्बर १५ का वडा सदस्य रामकृष्ण खड्का बताउँछन्।

साउन अन्तिम साता बाढी आएको बेलामा खोलाबाट माथितिर आएको गोही बस्तीमा पुगेको हुनसक्ने अर्का वडा सदस्य अनिल लामा बताउँछन्। सुख्खा क्षेत्रमा कसरी गोही आयो भनेर स्थानीयहरु अच्चम्मित भइरहेका बेला निकुञ्जले भने मगर गोही जुनसुकै क्षेत्रमा पनि जान सक्ने जनाएको छ।

 निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बाढीपछि सुरक्षित ठाउँ खोज्दै जाँदा गोही बस्तीमा पुगेको बताउँछन्। मुसा, भ्यागुता पनि खाएर बाँच्ने भएकाले गोही बस्तीतिर जानु नौलो नभएको पाठकको भनाइ छ। तर, देखेपछि उसलाई नजिस्क्याइ निकुञ्जलाई खबर गर्नुपर्ने उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.