|

पर्वत : हिमालपारीको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्रे गरिएको छ। २ महिना अघिदेखि सुरु भएको कालोपत्रेको काम मंगलवार सम्पन्न भएको हो। १२ किलोमिटर लामो सडक कालोपत्रे गरिएसँगै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज हुने भएको छ।

कालोपत्रेका लागि २ महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै बुधबारबाट नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रविन्द्र तिवारीले जानकारी दिए। साँघुरो सडक, मौसमको प्रतिकुलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोडको लागतमा कालोपत्रे गरिएको तिवारीले जानकारीले दिए।

जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्रे भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।

बेनी–जोमसोम सडक रातिमा बन्द

पहिरो खस्ने क्रम नरोकिएका कारण जोखिम बढेको भन्दै रातको समयमा बन्द गरिएको बेनी–जोमसोम सडक खण्डमा बन्दको अवधि थप गरिएको छ । सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खसिरहेको र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गएको साउन ५ गतेदेखि भदौ १५ गतेसम्म साँझ साढे ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो।

तर, मध्य भदौसम्म पनि सडकमा निरन्तर पहिरोहरु खसिरहेका कारण रातिमा सडक बन्द हुने अवधि भदौ ३१ गतेसम्म लगिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए। ७६ किलोमिटरको सडक खण्डअन्तर्गत उत्तरी म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ। दानको गुइठेभीर, काभ्रेभीर र मुस्ताङको थासाङमा दैनिकजसो पहिरो खसिरहेका कारण सडक जोखिममा परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.