|

कालिकोट : वर्षातका कारणले अवरुद्ध बनेको कर्णाली राजमार्ग ८ दिनपछि खुलेको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटमा पर्ने गगने खोलामा गएको पहिरो पन्छाएपछि बुधबार बिहानबाट राजमार्ग खुलेको हो। 

सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतबाट डोजर लगाएर पहिरो पन्छाइएको थियो। गत साता मंगलबारदेखि निरन्तर ठूलो पहिरो जाँदा ८ दिनदेखि सडक अवरुद्ध थियो। 

अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि ३ दिनसम्म डोजरको प्रयोग गर्नुपरेको  जिल्ला ट्राफिक कार्यालय कालिकोट प्रमुख सुजन पन्तले बताए। ‘निरन्तर पहिरो आएका कारणले काम गर्न सकिएको थिएन,’ उनले भने,‘ दुई डोजर लगातार ३ दिन लगाएर पहिरो पन्छाएपछि सडक सुचारु छ।’

पहिरोका कारणले राजमार्ग अवरुद्ध हुदाँ कर्णालीका जुम्ला, कालिकोट र मुगुमा खाद्यान्न लैजान पाइएको थिएन। त्यस्तै अस्पतालमा लैजानुपर्ने औषधि तथा दैनिक उपभोग्य सामान बोकेका गाडी राजमार्गमै अड्किएका थिए। 

राजमार्ग खुलेपछि दैनिक जीवनमा सहजता आउने कालिकोटका व्यापारी भीमप्रसाद आचार्य बताए। ‘कर्णाली राजमार्ग अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य लगायतका अत्याआश्यक सामान अभाव भएको थियो,’ उनले भने,‘राजमार्ग खुलेपछि अब केही सहज हुने भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.