|

  • गोविन्द महतो 

जनकपुरधाम : लामो समयदेखि राजनीतिमा लागेका जनकपुर उप–महानगरपालिका वडा नं. ५ का बाबु छोरा स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट फरक–फरक पदमा उम्मेदवार छन्। 

उप–महानगरपालिकाको उपप्रमुख पदमा बुवा युसुफ साफी र वडा नम्बर ५ को अध्यक्ष पदमा छोरा ईद मोहम्द साफी उम्मेदवार हुन्। बुबा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट र छोरा राष्ट्रिय जनता दल नेपाल पार्टीबाट चुनावी मैदानमा ओर्लिएका छन्। दुबैले आफ्नो जित सुनिश्चत भएको दाबी गरेका छन्।

‘छोरालाई उम्मेदवारी फिर्ता लिएर मलाई सहयोग गर भनेर मैले भने छैन, नत छोराले नै दुबै जना किन लड्नु हुन्छ, भनेर भनेको छ,’ युसुफ साफिले भने,‘देशमा लोकतन्त्र आईसक्यो सबैको आ–आफ्नो जिम्मेवारी र सोच्ने क्षमता छ। राजनीतिक हिसाबले न त म उसलाई रोक्न सक्छु। न त उसले मलाई नै !’

प्रजातन्त्रको जगर्नेका लागि राप्रपाले लिएको विचार र सिद्धान्त मन परेका कारण २०४७ सालदेखि नै राप्रपामा लागेको उनले बताए। उनले भने, ‘बुढेशकालमा आएर म उपमेयरमा निर्वाचनमा होमिए तर परिस्थिति यस्तो आयो की आफ्नै छोरोले मेरो भोट मागिदएन। तर म दुःखी छैन। छोराको आफ्नै पार्टी लाईन छ, मेरो आफ्नै सिद्धान्त, विचार र लाईन!’

घरका व्यक्तिहरुले राजपालाई भोट दिने की राप्रपालाई भन्ने प्रश्नमा उनले भने,‘श्रीमती र छोराहरु सबै आफैं बुझ्ने छन्। छोरा तथा घरपरिवारका सदस्यहरु पढे लेखेका छन् मलाई नै भोट हाल्छन्।’

राजनीति तथा समाज विकासको लामो अनुभवले गर्दा जित हासिल गर्ने उनको आशा छ। जनकपुरको समस्यासँग नजिकबाट भिजेको बताउँदै साफीले चुनाव जितेमा खानेपानी, बाटो, पर्यटकीय स्थल, विद्युत्त लगाएतका समस्याहरुलाई पूर्ण रुपमा समाधान गर्ने आश्वासन दिए।

४० वर्षीया छोरा ईद मोहम्द साफी पनि विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन्। उनलाई राष्ट्रिय जनता पार्टी नेपालले सर्वसम्मत रुपमै वडा अध्यक्षको उम्मेदवारमा उठाएको छ।

‘बुवा हाम्रो पार्टीबाट हामीलाई साथ दिए मैले पनि वा मेरो पार्टीले केही सहयोग गर्न सक्थ्यौं। तर राप्रपामै रहे साथ दिन सकिँदैन,’ उनले भने,‘बुवासँगको राजनीतिमा हामी एक अर्काको फरक धारका मानिस हौं। पारिवारिक रुपमा हामीलाई कुनै समस्या छैन।’

उनले आफ्नो परिवारमा स्वतन्त्रता भएका कारण बाबु–छोराले त्यसको उपयोग गर्दै आ–आफ्नो विचार मिल्ने पार्टी रोजेको बताए। ‘सायद यस्तो अवसर विरलै हुन्छ होला,’ ईदले भने,‘हारजित फरक पक्ष हो। तर एउटै घरबाट बुवा फरक पार्टीबाट उप–प्रमुखको उम्मेदवार बन्नु र छोरा वडा अध्यक्षको उम्मेदवार बन्नुको कारण फरक विचार र फरक राजनीतिक धरातल भएकाले हो।”

घरदैलो अभियानको क्रममा बुबाले राष्ट्रिय प्रजातन्त्र पार्टी तथा छोराले राष्ट्रिय जनता दलका लागि मत माग्दै हिडेंका छन्। जनकपुरको विभिन्न गल्ली तथा चोकहरुमा भोट माग्दै गर्दा उनीहरु यदाकदा आमने–सामने समेत हुने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.