|

काठमाडौं : उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारबाहीको निर्णय केही दिनमा मन्त्रिपरिषदले गर्ने बताएका छन्। सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले आपूर्ति मन्त्रालयबाट कारबाहीको प्रस्ताव आइसकेको भन्दै अब केही दिनमा मन्त्रिपरिषदले निर्णय गर्ने बताए।

कार्यकारी निर्देशक खड्काले पेट्रोलियम पदार्थ भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको सार्वजनिक भएको थियो। संसदीय समितिले पनि यस विषयमा छानबिन गर्दा अनियमितता भएको पुष्टी गरेको छ।

उपप्रधानमन्त्री श्रेष्ठले भने 'आयल निगमको भ्रष्टाचारको विषयमा मन्त्रालयबाट प्रस्ताव आइसकेको छ। अब क्याबिनेटले निर्णय गर्छ। सुशासन कायम राख्न र बदमासी रोक्न सरकार प्रतिवद्ध छ, यसमा शंका नगर्नुस्।'

उनले साझा प्रकाशनमा पनि महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पनि कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए। सरकारले स्पष्टीकरण पेश गर्न पत्र पठाए पनि शर्माले जवाफ नदिएकाले फेरि पत्र पठाएको श्रेष्ठले बताए।

शर्मामाथि शिक्षा मन्त्रालयले छानबिन सुरु गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान गर्न थालेपछि छोडेको उनले बताए। 'तर प्रेसर आएपछि हामीले फेरि छानबिन गर्‍यौं। हामीले स्पष्टीकरण सोधेको उनले जवाफ दिएका छैनन्' उपप्रधानमन्त्री श्रेष्ठले भने, 'जवाफ दिन फेरि पत्र पठाएका छौं, उनीमाथि पनि कारबाही गर्छौं।'

अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारको मूल उद्देश्य नै संविधान कार्यान्वयन भएकाले त्यसै दिशातिर अघि बढेको बताए। निर्वाचन नै संविधान कार्यान्वयनको मूल आधार भएको भन्दै उनले स्थानीय तह निर्वाचन असोज २ गते सम्पन्न हुने र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पनि सरकारले तयारी गरिरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.