आकस्मिक सुरक्षा परिषद् बैठक बोलाइयो

|
Photo : AFP

उत्तर कोरियाले शुक्रबार जापानको आकाशमा क्षेप्यास्त्र प्रहार गरेको छ। यो उत्तरक कोरियाले जापानको आकाश भएर प्रहार गरेको हप्ताको दोस्रो शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र रहेको बिबिसीले लेखेको छ।

दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय ७० किलोमिटरको उचाइबाट ३७ सय किलोमिटर टाढासम्मको दूरी पार गरेर जापानको होकाइदो समुद्री क्षेत्रमा पुगेको थियो।

जापानका प्रधानमन्त्री सिन्जो अबेले जापानले उत्तर कोरियाको यस्तो हर्कत नसहने बताएका छन्। उनले यसलाई उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहार भएको बताएका छन्। 'उत्तर कोरिया निरन्तर उक्साहटको बाटोमा लागेको छ, जसका कारण भविष्य ठीक छैन भन्ने संकेत गरेको छ।'

उत्तर कोरियाले जापानमाथि गरेको क्षेप्यास्त्र प्रहारलाई अन्तराष्ट्रिय कानुनको उल्लंघन गरेको रुपमा अर्थ्याइएको छ। यसले अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको थियो।

शुक्रबार गरेको प्रहारलाई उत्तर कोरियाले पुष्टि गरेको छ। उसले यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दूरीमा पुग्न सक्ने क्षमताको रहेको बताएको छ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले शुक्रबार बिहान हानेको क्षेप्यास्त्र हाइड्रोजन बम मिसाउन सक्ने खालको रहेको जनाएका छन्। उत्तर कोरियाली सञ्चारमाध्यमहरूले नेता किम जोङ उनलाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको पनि जनाएका छन्। 

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल जापानको आकाशमा प्रहार गरेको थियो। उक्त बम परीक्षणलाई अहिलेसम्मकै शक्तिशाली रहेको बताइएको छ। जसलाई उत्तर कोरियाका नेता किम जोन उनले महत्वपूर्ण उपलब्धि भनेका थिए भने उत्तर कोरियामा सार्वजनिक रुपमा खुसियाली मनाइएको थियो।  

सुरक्षा परिषद्को आकस्मिक बैठक 

यसैबीच, उत्तर कोरियाको आणविक परीक्षणबारे आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शुक्रबारै आकस्मिक बैठक बोलाएको छ। सुरक्षा परिषद्को बैठक शुक्रबार अबेर बोलाइएको छ। उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे आवश्यक छलफल हुनेछ।

यसै हप्ता मात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो। अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो।

उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ। उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.