संखुवासभा : संखुवासभामा ग्रामीण भूभागमा अलैंची खेतीले मकै, धान र कोदो खेतीलाई विस्थापित गर्ने थालेको छ। मकै, धान र कोदो उत्पादन हुने जमिनमा किसानहरुले अलैंची खेती गर्न थालेका छन्। धान र कोदो खेतीमा लाग्ने समय र परिश्रमले अलैचीले राम्रो आम्दानी दिने भएकाले उनीहरु अलैंची खेती गर्न आकर्षित भएका हुन्।
वर्षौंदेखि धान खेती गर्दै आएका पाँचखपन नगरपालिका १ का बलबहादुर राईले विगत ६ वर्षदेखि अलैंची खेती गर्दै आइरहेका छन्। राईले २० मुरी धान उत्पादन हुने खेतमा चार वर्ष अघि अलैंचीको विरुवा लगाएका थिए।
धान र कोदो उत्पादन गर्दै आएको चिस्यानी जग्गामा अलैंची खेती गर्दा दोब्बर आम्दानी हुने भएकाले धान र कोदोको साटो अलैंची खती गर्न थालिएको कृषकहरु बताउँछन्। धान तथा कोदो उत्पादन गरिने खेतबारीमा अलैंची उत्पादन गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिइरहेका छन्।
२०मुरी धान फल्ने खेतमा साढे २ लाखको अलैंची
तीन वर्षअघिदेखि अलैंचीले उत्पादन दिन थालेसँगै धानभन्दा अलैंची लाभदायक भएको राईले बताए। उनको २० मुरी धान उत्पादन हुने जग्गामा ७ मन अलैंची उत्पादन हुन्छ। उनले भने, ‘अहिलेको बजार मूल्यअनुसार ७ मन अलैंचीको मूल्य साढे २ लाख पर्छ। यो पैसाले खरिद गरेको धान वर्षभरिमा खाएर सकिने होइन। तर, धानको खेती गर्दा एक वर्षलाई खानुशिवाय केही थिएन।’
उनको परिवारमा अलैंचीले आर्थिक समृद्धि गर्नुका साथै धान खेतीमा जस्तो स्याहार गरिरहनु पर्ने समयको समेत सदुपयोग भएको छ। राईले जस्तै संखुवासभाका ग्रामीण भेगका कृषकहरु धान, कोदो र मकै जस्ता बालीभन्दा अलैंची नाफामुखी भएपछि खेती गरिरहेको जग्गामा अलैंचीको विरुवा लगाउन थालेका छन् भने केहीले उत्पादन गरिरहेका छन्।
केही वर्ष अघि आफ्नै जग्गामा अलैंची खेती गरेका तामाङले भने यो वर्ष घर वरिपरिका धान खेत मात्र राखेर बाँकी जग्गामा अलैंची लगाएका हुन्। अलैंचीमा चिस्यान गर्न उनले तीन सय मिटर पाइप प्रयोग गरेका छन्।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाका ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा अलैचीको खेती गरिन्छ। तर केही वर्ष देखि अलैंची खेतीमा कृषकहरुको आकर्षण बढे संगै यो तथ्याङ्क पनि बढ्न सक्ने कार्यालयले जनाएको छ। अलैंची खेतीले भू–क्षय कम गर्ने र ग्रामिण भेगमा उत्पादन हुने भएकाले युवाहरु समेत यसको खेती प्रति आकर्षित हुन थालेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।