|

काठमाडौं :  एसीसी यु-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। शनिबार मलेसियाको किनरारा ओभल मैदानमा मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले विना विकेट क्षति भेट्टायो।

नेपालको जितमा नेपालका उपकप्तान आशिफ सेखले ५० र सन्दीप सुनारले ५१ रन जोडे। ७७ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरेका थिए भने ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्काको मद्दतले अर्धशतक पुर्‍याएका थिए। दुई खेलाडीले अर्धशतक पुर्‍याएपछि नेपालले २३.१ ओभरमा विना क्षति १ सय २५ रन जोडेर खेल जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४२ ओभरमा १ सय २१ रन जोड्दा अलआउट भयो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिए। त्यस्तै पवन सर्राफले २, रोहित पौडेल, सन्दीप लामिछाने र सहाब आलमले १/१ विकेट लिए।

ब्याटिङतर्फ मलेसियाका लागि नलिन डे सिल्भाले सर्वाधिक ३९, वीरन्दीप जगजित सिंहले २५, महम्मद सारियल अल्जात मोदले १६ र अम्मर जुदी हजालान १४ रन जोडे। अन्य व्याट्सम्यानहरु भने दोहोरो अंकको स्कोर नछुदै आउट भएका थिए। फाइनलमा नेपालले सिंगापुर र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.