|

काठमाडौं : काठमाडौं उपत्यकामा दैनिक तीन देखि चार जना मानिसको ब्रेन डेथ (मष्तिश्क मृत्यु)  हुन्छ। वर्षभरीमा एक हजार भन्दा बढीको ब्रेन डेथ हुने गरेको सरकारी तथ्याङ्क छ। एक जना ब्रेन डेथ भएका व्यक्तिको अंगले कम्तीमा दुई जना बिरामीको जीवन बचाउन सकिने चिकित्सकहरु बताउँछन्।

तर नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग झिक्ने प्रचलन नहुँदा धेरै व्यक्तिको अंग खेर जान्छ भने कतिपय बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ। त्यसैले अहिले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले ब्रेन डेथ भएका व्यक्तिको अगंदान गर्ने परिवारका सदस्यलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।केन्द्रमा रहेको अंगदान समन्वय इकाईले ब्रेन डेथ भएका व्यक्तिको अगंदान गर्ने  परिवारलाई १ लाख दिने निर्णय गरेको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताए।

उनले भने 'अझै पनि हाम्रोमा ब्रेन डेथ भएर मृत्यु भएका परिवारले अगंदान गरेको पाइदैन, त्यसैले हामीले अंगदान गर्ने व्यक्तिको परिवारको सदस्यलाई प्रोत्साहन स्वरुप यस्तो निर्णय गरेका हौं।' समन्वय इकाईले ब्रेन डेथ भएको खबर गर्ने अस्पताललाई समेत समेत ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

यस्तै ब्रेन डेथ भएका व्यक्तिबाट झिकेको मिर्गौला प्रत्यारोपण गर्ने अस्पताललाई ५० हजार र कलेजो प्रत्यारोपण गर्ने अस्पताललाई २ लाख ५० हजार रुपैयाँ समेत दिने निर्णय गरेको  डा. श्रेष्ठले बताए। 'मानिसको ब्रेन डेथ भएपछि जति सक्दो चाँडै अंग झिक्न सकियो त्यति नै राम्रो हुन्छ, यस्तो बेलामा  ब्रेन डेथ भएका बिरामी राखिएको अस्पताल र चिकित्सकको अति नै महत्वपूर्ण भुमिका हुन्छ, त्यसैले अस्पताल र चिकित्सकलाई प्रोत्साहन स्वरुप  अर्थिक सहयोग गर्ने निर्णय गरेका हौं' उनले भने, 'हामीले यो निर्णय सहमतिका लागि स्वास्थ्य मन्त्रालय पनि पठाइसकेका छौं।'

यो निर्णयमा स्वास्थ्य मन्त्रालयले सहमति दिएमा कार्यान्वयनमा जानेछ। सरकारले गत मंसिरमा  अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ ल्याएको थियो। त्यसलगत्तै अंग कसले पाउने भन्ने बारेमा  समन्वय गर्नको लागि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा समन्वय इकाई स्थापना गरिएको थियो।

यसरी मानवअंग प्रत्यारोपण सम्बन्धी नियमावली पारित भएको ९ महिना पुगिसक्दा पनि ब्रेन डेथ भएका व्यक्तिको परिवारले अंगदान गर्ने इच्छा नगरेपछि समन्वय इकाईले यस्तो निर्णय गरेको डा. श्रेष्ठले बताए।

'एक जना ब्रेन डेथ भएका व्यक्तिबाट समयमा नै अंग झिक्न सकियो भने व्यक्तिबाट मिर्गौला, फोक्सो,  कलेजो,  प्यान्क्रियाज, सानो आन्द्रा, आँखाको नानी तथा छाला दान गरी अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ, तर हाम्रोमा मृत्यु भएपछि अंग झिक्न हुँदैन भन्ने परम्परा रहेको हुनाले पनि अहिलेसम्म अंग दान गर्ने गरेको पाइएन' डा. श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.