|

इलामः तेस्रो संविधान दिवश इलाममा पनि प्रभात फेरी तथा प्रवचन कार्यक्रम गरी सम्पन्न गरियो। इलाम सदरमुकामको ठूलो टुँडिखेलबाट मंगलबार बिहान निकालिएको प्रभात फेरी जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो। 

दिवशको अवसर पारेर आयोजित कार्यक्रम सर्वसाधारणहरूको भने न्यून सहभागिता रहेको थियो। प्रभात फेरी कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नता रहे पनि प्रवचन कार्यक्रममा अतिथिसहित सहभागीको संख्या ३५ कोे हाराहारीमा मात्र रहेको थियो।

त्यस्तै, इलाम जिल्लामा क्रियाशील डेढ दर्जनको संख्यामा रहेका राजनीतिक दललाई कार्यक्रममा अतिथिको रूपमा उपस्थितिको लागि उद्घोषकले बोलाउँदा चारवटा मात्र राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित भएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूको मात्र संविधान दिवशको कार्यक्रममा सहभागिता थियो। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका भूमि ढुंगानाले जनता तथा दलहरू मौन बस्दा संविधान स्वीकार गरेको वा पालना गरेको भन्ने नबुझ्न आग्रह गर्दै संविधानलाई अझै समावेसी बनाउनुपर्नेमा जोड दिए। यता, माओवादी केन्द्रका इन्चार्ज धीरेन शर्मा रमणले देशका हरेक क्षेत्रहरूमा दलीयकरण हुनु भएन भन्दै राजनीतिलाई सच्चा रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। 

नेकपा एमालेका अध्यक्ष राम रानाले संविधान जारी भए पनि संक्रमणकाल नसकिएको बताए। उनले विभिन्न समूहहरूले आफ्नो एजेण्डा स्थापित गर्न आन्दोलन गर्ने परिपाटीको विकास भएको भन्दै यस्तो संस्कार अन्त्य हुनुपर्ने बताए। नेपाली कांग्रेसका सचिव निरोज खड्गीले संविधान दिवशमा उल्लासमय उपस्थिति नभएको भन्दै यस्तो अवस्था आउनुमा दलहरू चुकेको बताए। 

महिला नेतृ विष्णु दहालले संविधानमा महिलाहरूलाई विशेष अधिकार दिइए पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन्। उनले राजनीतिक दलहरूले महिलाहरूलाई अगाडि बढ्नमा अंकुश लगाएको आरोपसमेत लगाइन्। 

इलाम नगर प्रमुख महेश बस्नेतले नेपालको संविधान, २०७२ लाई म्याग्नाकार्टासँग तुलना गरे। उनले दक्षिणको शक्तिशाली हावालाई यो संविधानले छेकेका कारण नाकाबन्दीको सामना गर्नुपरेको बताए। जनताले नाकाबन्दी चिर्दै संविधानलाई अघि बढाएर प्रदेश नं. २ निर्वाचनसमेत सम्पन्न गर्न संविधान सफल भएको बस्नेतले बताए।

जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवश मूल समारोह समितिका संयोजक गणेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान दिवशको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा अधिवक्ता जसबहादुर लुंगेलीले नेपालको संविधान, २०७२ का दुर्बल तथा सबल पक्षहरू प्रस्तुत गरेका थिए। 

इलाम बजारमा भेला भएका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवं स्थानीय बासिन्दाले ‘संविधान दिवस २०७४’ लेखेर मैनबत्ती प्रज्वलन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.