२ वटा बैठकमार्फत २२ प्रस्ताव प्रस्तुत, एकै दिनमा ७  विधेयक पारित

|

काठमाडौ : सभामुख ओनसरी घर्ती मगरले एकै दिन २२ वटा प्रस्ताव संसद बैठकमा पेश गरेर विदेश भ्रमणको हतारो प्रस्तुत गरेकी छन्। उनी भोलीबाट एक साता लामो विदेश भ्रमणमा जाँदैछिन्। 

सभामुख घर्ती मगर, सत्तारुढ कांग्रेस, माओवादी र प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतकको मिलेमतोमा आधा दर्जन विधेयकलाई हतारमा पास गरेका हुन्।
व्यवस्थापिका संसदको मंगलबार बसेको दुई वटा बैठकमार्फत सभामुख घर्तीले विधेयक पास गरेकी हुन्।

संसदको मंगलबार बसेको दोस्रोे बैठकमा सांसदहरुले विधेयक पढ्न समेत नपाई हतारोमा पारित गरेका छन्। शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पेश गरेको शिक्षा नवौं संशोधन विधेयक २०७४ सांसदहरुलाई उपलब्ध नैं नगराई पास गरिएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले संसदको मंगलबारको दोस्रोे बैठकमा सो विधेयकलाई पहिले दफाबार छलफलको लागि सदनमा पेश गरे। तत्कालै संशोधनकर्ता सांसदलाई मुख्य सचेतकमार्फत छलफलमा भाग लिन समेत दिइएन।

तर कांग्रेस सांसद् राधेश्याम अधिकारी र गगन थापाले विधेयकप्रति कडा आपत्ति जनाएका थिए। संशोधनकर्ता सांसदहरुको संशोधनलाई राति साढे नौं बजे निर्णयार्थ पेश गरेर अश्विकृत गर्दै विधेयकलाई उपप्रधानमन्त्री श्रेष्ठले पेश गरे बमोजिम जस्ताको–त्यस्तै पारित गरियो।

शिक्षा विधेयक पारितसँगै ८० प्रतिशत जनताका छोरा छोरीले पढ्ने सामुदायिक (सरकारी )शिक्षाको गुणस्तरमा सरकारले गम्भीर खेलवाड गरेको पूर्व मन्त्री गगन थापाले आरोप जनाए। उनले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा ल्याइएको विधेयकले समाजमा दुई खाले शिक्षाबीचको खाडल बढाउने बताए।

कांग्रेसका अर्का सांसद् अधिकारीले संसदबाट के पास हुँदैछ भन्ने विषय सांसदहरुलाई नै थाहा नदिएर सांसदलाई विधेयक पारित हुनु निन्दनीय रहेको बताए। उनले संसदीय परम्परा र मर्यादालाई समेत ख्याल नगरी विधेयक हतारमा पास गर्न लागिएको भन्दै आलोचना गरे। तर सत्तारुढ सांसदको समेत कुरा नसुनी उपप्रधानमन्त्री श्रेष्ठले विधेयक प्रस्तुत गरेका थिए।

आज पारित विधेयकमा सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ती ७५ प्रतिशत (आन्तरिक बढुवाबाट) र २५ प्रतिशत मात्र बाहिर अर्थात खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ती गरिने व्यवस्था छ। प्रमुख तीन दलले अस्थायी शिक्षकमार्फत आगामी निर्वाचनमा समेत लोकप्रियता हासिल गर्न विधेयक अगाडि ल्याएको सांसदहरुको आरोप छ। 

संशोधनकर्ता सांसद् गगन थापाले थाहाखबरसँग भने,‘प्रतिस्पर्धी र गुणस्तरिय शिक्षाका लागि प्रतिस्पर्धाको माध्यमबाट ७५ प्रतिशत र २५ प्रतिशत आन्तरिक प्रतिष्र्धाबाट पूर्ती गर्नुपर्छ भन्ने मेरो प्रस्तावलाई लत्याइयो।’ 

मंगलबार पारित भएका विधेयकहरु 

१,  शिक्षा (नवौं संशोधन) विधेयक, २०७४
२, राष्टपति र उपराष्टपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी बिधेयक, २०७४
३, सहकारी विधेयक, २०७४,
४, मुश्लिम आयोग विधेयक २०७४
५, थारु आयोग बिधेयक, २०७४
६, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४
७, केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१

सदनमा प्रस्तुत भएर विचार गरियोस् भन्ने प्रस्ताव पास भएका विधेयक

१ विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विेधयक, २०७४
२ राष्टिय सभा सदस्य निर्वाचन विधेयक, २०७४
३,राष्टपति र उपराष्टपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४

संसदीय समितिको प्रतिवेदन सहित पेश भएको विधेयक
१ राष्टिय चिकित्सा शिक्षा विधेयक, २०७४ 
२ राष्टिय महिला आयोग विधेयक , २०७४

समितिको प्रतिवेदनसहित पेश भइ छलफलको प्रस्ताव पारित भएको विधेयक

१ स्थानीय शासन विधेयक, २०७३

फिर्ता गर्ने निर्णय भएका विधेयक

१ केही दफाहरु पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा फिर्ता गर्ने सम्बन्धी देवानी संहिता विधेयक, २०७१ 
२ केही दफाहरु पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा फिर्ता गर्ने सम्बन्धी देवानी कार्यविधि संहिता विधेयक, २०७१

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.