|

जाजरकोट : सदरमुकाम खंलगाको न्युरोड नजिक १ महिनाअघि भत्किएको सडक मर्मत हुन नसक्दा जाजरकोटवासीलाई सास्ती भएको छ। सडक थोत्रो भएर हिलाम्ये भएको छ। 

भेरी नगरपालिका– ३ न्युरोडमा पहिरो जाँदा १ महिनादेखि यातायात अवरुद्ध छ। जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड अन्तर्गत सदरमुकामको न्युरोड नजिक पहिरोले भत्किएको सडक नबन्दा स्थानीयवासीले सास्ती ब्यहोरेका हुन। उक्त खण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरु खलंगादेखि रिम्नासम्म ५ घण्टा पैदल हिंड्न बाध्य छन्।

सडकको मर्मत नहुँदा व्यापारीहरुलाई दैनिक उपभोग्य वस्तु ओसार पसारमा पनि समस्या छ। वैकल्पिक सडकको पहल नहुँदा  पैदल यात्रीले आवत जावतमा ठूलो जोखिम मोेल्नुपरेको छ।

लामो समयसम्म पनि भत्किएको सडकको पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको भेरी नगरपालिका ३ थाप्लेका शिव प्रसाद शर्माले बताए। 
‘सबै आउँछन् भत्किएको सडक हेर्छन् र जान्छन्। मर्मतको कुनै पहल गर्दैनन,’ उनले भने,‘समयमा यसको बारेमा सरोकारवाला निकायले ध्यान नदिँदा अझै बिग्रिने खतरा छ।’

खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो गइ सडक भत्किएको शर्माको भनाइ छ। रोजेन्द्र र जलजला जेभी काठमाडौंले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो। तर सडक डिभिजन कार्यालय चौरजहारी रुकुमको चरम लापरबाहीका कारण गुणस्तरीय काम हुन नसकेको शर्माले आरोप लगाए। खलंगा–रिम्ना सडक स्तरोन्नतिका लागि १२ करोड रुपैयाँ लागतमा रोजेन्द्र जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो।

सडक बिग्रिएपछि सबैभन्दा धेरै समस्यामा बिरामी पर्ने गरेका छन्। अस्पतालमा बिरामी लैजान समस्या छ। उक्त ठाँउमा  पैदल हिँड्न पनि कठिन छ। बजारक्षेत्रका बासिन्दाले सडक हुँदै ढल निकास गर्ने गरेका कारण यो सडक दुर्गन्धित समेत छ। 

कच्ची सडकमा डोरी लगाएर गाडी तान्दै 

सदरमुकामको बाटोबाट रिम्ना जोड्न समस्या भएपछि यातायात व्यवसायीहरुले छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत जाजरकोट खण्डको पासागाड जिरो प्वाइन्टबाट जाजरकोट-डोल्पा जोड्ने कच्ची सडक हुँदै यातायात संचालन गर्ने गरेका छन्। सदरमुकाम खल‌ंगास्थित न्युरोडबाट यो सडक झन्डै ३ किलोमिटर टाढा छ। 

नेपाली सेनाले निमार्ण जिम्मा लिएको उक्त सडक खण्ड पनि भरपर्दो छैन। खाल्डा खुल्डीले गर्दा यातायत सञ्चालनमा निकै समस्या भएको भेरी गंगा यातायात व्यवसायी संघ जाजरकोटका अध्यक्ष नवराज सिंहले बताए। 

सेवा दिने उदेश्यले जोखिम मोलेर भएपनि ट्रयाक मात्र ओपन गरेको बाटोमा यातायात संचालन गरिएको उनले जानकारी दिए। ‘बाटा बिग्रिएको छ। आर्मीले पनि मर्मत गरेको छैन, सडकमा गाडी दैनिक रुपमा फस्ने गरेका छन , निकास्न नै ३–४ घण्टा लाग्छ,’ उनले भने।

सदरमुकामको वाटोको विकल्प नहुँदा बाध्य भएर नेपाली सेनाले ट्रयाक मात्र ओपन गरेको बाटोमा यातायात संचालन गर्ने गरिएको सिंहले बताए। उक्त सडक पासागाड जिरो प्वाइन्टदेखि कालेगाँउसम्म १८ स्थानमा भत्किएको सिंहले बताए। 

नेपाली सेनाले निमार्णको जिम्मा लिएको उक्त सडकको स्तरोन्नती नहुँदा यात्रुहरुले बसलाई डोरीले बाँधेर फसेको स्थानबाट तान्ने गरेका छन्। अन्य कुनै विकल्प नहुदा जाजरकोटका पूर्वी क्षेत्र तथा डोल्पा र रुकुमकाबाट आउने यात्रुहरु यही सडक हुँदै यात्रा गर्छन्। 

साँघुरो तथा कच्ची सडकमा यातायात व्यवसायीहरुले पनि ठुला बसहरु संचालन गर्ने गरेको भेरी नगरपालिका ४ का अमर जंग शाहले बताए। ‘सडकको क्षमताभन्दा बसहरु नै ठुला छन। सडकमा धेरै खाल्डा खुल्डी भएकाले गाडीहरु फस्छन। यात्रुहरुले दुख पाउँछन्,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.