|

काठमाडौं : छ वटा प्रदेशको स्थानीय निर्वाचनमा दोस्रो स्थानमा रहेको संसदको ठूलो दल नेपाली कांग्रेसले प्रदेश नम्बर दुईको स्थानीय तहमा सबैभन्दा धेरै सिट जिते पनि सन्तुष्ट देखिएन। आइतबार साँझ ९ स्थानको मतगणनाको नतिजा आउन बाँकी रहँदा कांग्रेसले ३७ स्थानीय तहको प्रमुख पद जितेको छ। जुन उसले अनुमान गरे भन्दा झण्डै २० सिट कम हो। 

कांग्रेसले अग्रता लिएको स्थानीय तहलाई समेत हिसाब गर्दा उसले ४० सिट मात्र जित्ने देखिन्छ। चुनावी अभियानका क्रममा कांग्रेस नेता विमलेन्द्र निधिले दुई नम्बर प्रदेशका एक सय स्थानीय तहमा कांग्रेसले जित हात पार्ने दाबी गरेका थिए।

‘यो परिणामलाई हामीले उत्साहप्रद नमाने पनि सन्तोषजनक मान्न सकिन्छ’, कांग्रेस दुई नम्बर प्रदेशका संयोजक केन्द्रीय सदस्य रमेश रिजालले थाहाखबरसँग भने ‘हामीले ६० सिटसम्म जित्न सक्ने लक्ष्य लिएर तयारी गरेका थियौं।’ कांग्रेसले आठ जिल्ला सदरमुकाममध्ये हालसम्म सर्लाही सदरमुकाम मलंगवा मात्र जितेको छ। जनकपुर र सिमरा जितपुर उपमहानगरपालिकामा कांग्रेसले पराजय व्यहोर्‍यो। 

कांग्रेसले दुई नम्बर प्रदेशको निर्वाचनमा राम्रो व्यवस्थापन गरेको भए हालको भन्दा थप २० देखि २५ स्थानीय तहमा जित हासिल गर्न सक्ने कांग्रेस केन्द्रीय सदस्य गगन थापा बताउँछन्। ‘दुई चरणमा भएका निर्वाचनका कमजोरीलाई सच्याउन सकेको भए कांग्रेसले ६० देखि ६५ स्थानीय तहमा निर्वाचन जित्ने रहेछ’, युवा नेता थापाले भने ‘उम्मेदवार छनोट ढिलो हुनु र छनोटमा आग्रह राख्नु हाम्रो कमजोरी हो।’

दुई नम्बर प्रदेश संयोजक रिजालले मधेसी जनताको विश्वास कांग्रेसलाई भए पनि मधेसवादी दलसँग पनि आशा गरेको जस्तो देखिएको बताए। ‘बाहिर जसले जे भने पनि हामीले एक सय सिट जित्ने सम्भावना थिएन’, रिजालले भने ‘हामीले ६० सिट जित्न खोजेका हौं तर राजपा, संघीय समाजवादी फोरम लगायतका दलले मधेसी जनताको मत जितेकै कारण हामीले लक्ष्य हासिल गर्न सकेनौं।’

पहिलो र दोस्रो चरणमा सत्तारुढ गठबन्धन माओवादी केन्द्रसँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको कांग्रेसले दुई नम्बर प्रदेशमा बाराको निजगढ नगरपालिकाबाहेक कुनै पनि तहमा तालमेल गरेन। अन्य क्षेत्रमा कमजोर आंकलन गरिएको माओवादी केन्द्रले दोस्रो स्थानका लागि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग प्रतिष्पर्धा गरिरहेको छ।

‘पार्टी नेतृत्वले दुई नम्बर प्रदेशमा माओवादी केन्द्रलाई कमजोर आंकलन गर्नु त्रुटी हो’, थापाले भने ‘दुई नम्बर प्रदेशमा कांग्रेसको प्रतिष्पर्धा कोसँग हुन्छ भनेर थाहा नपाउनु हाम्रो कमजोरी हो।’ थापाले समयमै उम्मेदवार चयन गरेको र आग्रह नराखी उम्मेदवार बनाएको भए कांग्रेसले सफलता हासिल गर्ने दाबी गरे।

अर्का नेता रिजाल दुई नम्बर प्रदेशको निर्वाचनमा पार्टीले सफलता पाउन व्यवस्थापन भन्दा पनि मतदाताकै मन जित्न नसक्नु पहिलो कारण भएको बताउँछन्। दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा भने कांग्रेसले संघीय समाजवादी फोरमसँग प्रतिष्पर्धा गरिरहेको छ। राजबिराजको मतगणना भने प्रारम्भिक चरणमा छ।

चार बर्षअघि भएको संविधानसभा निर्वाचनमा २१ वटा निर्वाचन क्षेत्रमा बिजय हासिल गरेको कांग्रेसलाई ४० स्थान जित्न सकस परेको छ। दुई नम्बर प्रदेशमा एमालेले १४ वटा निर्वाचन क्षेत्रमा र माओवादीले ७ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो। संसदीय निर्वाचनमा एक स्थानमा पनि विजय हासिल नगरेको संघीय समाजवादी फोरमले स्थानीय तहमा भने २५ स्थानीय तहमा बिजय हासिल गर्ने सम्भावना देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.