२ नम्बर प्रदेशमा कांग्रेस पहिलो, समग्रमा एमाले

|

लहान : सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ। राजपाका शम्भुप्रसाद यादवले संघीय समाजवादी फोरम नेपालका भिमराज यादवलाई १५ मतान्तरले हराउँदै ४ हजार ७ सय ७४ मतसहित प्रमुख पद जितेका हुन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी फोरमका भिमराज यादवले ४ हजार ७ सय ५९ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा राजपाकै साधना झा ५ हजार १ सय ९५ मत प्राप्त गरेर विजयी भइन्। उनकी निकटम् प्रतिद्वन्द्वी फोरमकी किरणकुमारी साहले ४ हजार २ सय ६९ मत प्राप्त गरेकी छन्।

राजविराज नगरपालिका देशकै पुरानो नगरपालिकामध्ये एक हो। यो सगरमाथा अञ्चलकै सबैभन्दा पुरानो नगरपालिका हो। वि.सं. २०१६ सालमा राजविराज नगरपालिकाको स्थापना भएको थियो। 

असोज २ गते सम्पन्न तेस्रो चरणको निर्वाचनको बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राजपाले यस नगरका १, ९, १०, १४ र १६ नम्बर वडामा वडाध्यक्ष जितेको छ भने माओवादी केन्द्र र फोरमले चार÷चार वटा वडा जितेका छन्।

माओवादी केन्द्रले ४, ६, ८ र ११ नम्बर वडामा वडाध्यक्ष जितेको छ। फोरमले २, १२, १३ र १५ नम्बर वडामा वडाध्यक्ष जितेको छ। त्यस्तै वडा नं. ३ र ७ को वडाध्यक्ष स्वतन्त्रले जितेका छन्। नेपाली कांग्रेसले वडा नम्बर ५ मा वडाध्यक्ष जितेको छ। राजविराज नगरपालिकामा दुई स्वतन्त्रसहित १२ प्रमुख र नौ जना उपप्रमुखको प्रत्याशी रहेका थिए। 

को हुन् प्रमुख यादव ?

राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रमुख जितेका यादव नगरको पुरानो पहिचान फर्काउन आफूले प्रयास गर्ने बताउँछन्। ‘समस्याले जेलिएको राजविराजको कायापलट गर्नेछु,’ जितपछि उनले भने,‘मतदाताले मेरो स्वच्छ छविको मूल्याङ्कन गरेका छन्। जनताको विश्वसामा ठेस पुर्याउृने छैन।’ 
तत्कालीन फर्सैठ गाविसको दुई पटक अध्यक्ष भएका दिवङ्गत देवनारायण यादवका छोरा रहेका यादव राजनीतिसँगै निर्माण व्यवसायीको समेत रुपमा पनि चिनिन्छन्।

जिल्लामा को बलियो ? 

नौ गाउँपालिका र नौ नगरपालिका रहेको सप्तरीको जिल्ला सदरमुकाम समेत रहेको राजविराजमा पहिलोपल्ट बाजी मारेको राजपाले जिल्लाको ६ स्थानीय तहमा जित हासिल गर्‍‍यो। राजपाले डाकनेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख उपप्रमुख दुवै जितेको छ भने छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षसहित तिलाठी, कोइलाडी र रुपनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै जितेको छ । 

नेपाली कांग्रेसले जिल्लाको पूर्व पश्चिम सडकसँग जोडिएका मुख्य स्थानीय तहहरु जितेको छ। कांग्रेसले सुरुङ्गा, शम्भुनाथ नगरपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको छ भने कंचनरुप र खडकमा उपप्रमुख जितेको छ। उसले जिल्लाको अग्निसाइर कृष्णसवरण र बृेलही चपेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुर्बमा जित हासिल गरेको छ। 

त्यस्तै, फोरमले बोदेबर्साइन नगरपालिकाको प्रमुख, उपप्रमुख र खडक नगरपालिकाको प्रमुखसहित तिरहुत, महदेवा र बलान बिहुल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जितेको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको एमालेले भने जिल्लाको कंचनरुप नगरपालिका प्रमुख र सप्तकोशी नगरपालिकाको प्रमुख–उपप्रमुख दुबै पदबाहेक जिल्लाका अन्य स्थानीय तहमा जित्न सकेन।

सिङ्गो  नं. प्रदेशमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षसहित २ वटा वडामा जित हासिल गरेको छ।

२ नम्बर प्रदेशमा कांग्रेस पहिलो, समग्रमा एमाले 

राजविराजको नतिजासँगै ३ चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ। गत असोज  २ गते भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै ४० सिट जितेर कांग्रेस अग्रस्थानमा रह्यो। २६ सिट जितेर संघीय समाजवादी फोरम प्रदेश नम्बर २ मा दोस्रो पार्टी बन्यो। त्यस्तै, राजपाले २५, माओवादीले २१ र एमालेले १८ सिट जिते। 

प्रदेश नम्बर २ मा पाँचौ स्थानमै खुम्चिएपनि एमालेलाई स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्नबाट अन्य दलले रोक्न सकेनन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी रहेको एमालेले समग्रमा देशभर २ सय ९४ सिट जित्यो। कांग्रेसले २ सय ६६ सिट जित्यो। माओवादीले  १ सय ६ सिट जित्यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.