|

रुकुम : पूर्वी रुकुमले औपचारिक रुपमा नयाँ जिल्लाको मान्यता पाएसंगै जिल्लावासीहरुमा खुसियाली छाएको छ। संविधानमै रुकुम जिल्ला दुई भागमा विभाजित भएर पूर्वी रुकुम र पश्चिम रुकुम बनेपछि पुर्वी रुकुमका नागरिकहरु खुशी भएका थिए। साताअघि नेपाल सरकारका गृह मन्त्री जनार्दन शर्माले रुकुमकोटमा जिल्ला स्थित सरकारी कार्यालयहरु उद्घाटन गरेसगै ३ ओटा स्थानीय तह सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका मिलेर बनेको पूर्वी रुकुम जिल्लाले नयाँ जिल्लाको रुपमा औपचारिक मान्यता पाएको छ।

रुकुम जिल्लाको सदरमुकाम सुरुमा पूर्वी रुकुमको रुकुमकोटमा नै भए पनि २०३० सालमा मुसीकोटमा सारिएको थियो। जसका कारण पूर्वी रुकुमलेलीहरु सरकारी कामका लागि २/३ लगाएर मुसीकोट आउनुपर्ने बाध्यता थियो। ४४ वर्ष पछि बल्ल दुख हटेको स्थानीय दिलकुमारी मल्ल बताउँछिन्। ‘पूर्वी रुकुम छुटै जिल्ला भएर रुकुमकोटमा सदरमुकाम आउँदा हामी निकै खुसी भएका छौं’ उनले भनिन्, ‘बिगतका दिनहरुमा पूर्वी रुकुमका जनताहरु सरकारी सेवाका लागि मुसीकोटमा धाउनुपरेर निकै दुख भयो अब त्यस्तो हुने छैन।’

नेपालमा ७७ जिल्ला भएसंगै पूर्वी रुकुम पनि एक छुट्टै जिल्ला बन्दा सदरमुकाम रुकुमकोटमा विभिन्न सरकारी कार्यालयहरु स्थापना हुन सुरु भइसकेका छन्। रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र मालपोत लगायतका सरकारी कार्यालयहरु स्थापना भइसकेका छन्। स्थापना भएका सरकारी कार्यालयबाट सेवा दिन सुरु गरिएको पूर्वी रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए।

 ‘जिल्ला प्रशासन कार्यालयबाट दिइने नागरिकता लगायतका सबै सेवा प्रदान गर्ने काम सुरु भइसकेको छ, अन्य सरकारी कार्यालयबाट हुने कामकाज पनि अब क्रमश शुरु हुन्छ’ उनले भने। सरकारी कार्यालयहरु स्थापना भएपछि पूर्वी रुकुममा विकास निमार्णको कामले समेत तिब्रता पाउन थालेको छ। अझै धेरै कार्यालयहरु स्थापना हुन बाँकी रहेका कारण आफू त्यसकै लागि खटिरहेको पूर्व आपूर्ति मन्त्री तथा सांसद गणेशमान पुनले बताए।

उनका अनुसार जिल्ला स्तरमा भएका सबै कार्यालयहरु स्थापना गर्न केन्द्रमा दौडधुप गर्ने काम जारी रहेको छ। रुकुम जिल्ला दुई भागमा विभाजन हुँदै गर्दा पश्चिम रुकुमको मुसीकोटमा महिनौं दिन आन्दोलन भएको थियो। तर, रुकुम जिल्ला बिभाजन नभई विस्तार भएकोले पूर्वी रुकुम र पश्चिमरुकुम जिल्लालाई नमुना जिल्ला बनाइने गृहमन्त्री जनार्दन शर्माले जिल्ला स्तरीय सरकारी कार्यालय उद्घाटन कार्यक्रममा बताएका थिए।

 ‘रुकुम टुक्रिएको होइन पूर्वदेखि पश्चिमसम्म विस्तार गरिएको हो’ उद्घाटन कार्यक्रममा उनले भनेका थिए, ‘यसमा हामी पहलकदमी गर्ने नेता र जनता दुबैको जीत भएको छ।’ एउटा रुकुम जिल्ला दुई जिल्ला बनेपछि सिंगो रुकुमलाई माया गर्नेहरुमाथि केही  भावनात्मक रुपमा असर परे पनि पुर्वी रुकुमका नागरिकहरुले भने साँच्चिकै गाँउमा सिंहदरबार आएको अनुभुति गरेका छन्।

यसरी सारिएको थियो रुकुमकोटबाट मुसिकोटमा सदरमुकाम

२०५२ सालपछि रुकुममा सोँचे भन्दा छिटो र धेरै माओबादी फैलिएपछि यसको मुख्य कारण पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था यूएसएडले आफ्नो खर्चमा रबर्ट गेर्सोर्नीलाई कन्सलट्यान्ट बनाउदै एउटा अध्ययन गरेको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एण्ड डायनामिक्स अफ दि माओइष्ट रिभोल्ट इन नेपाल राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्गम स्थलमा बिद्रोह शुरु हुनुका बिभिन्न कारण पहिल्याइएको थियो। जसमा एउटा कारण रुकुमको सदरमुकाम परिवर्तन पनि राखिएको छ।

पूर्वी रुकुम ७० को दशकअघि बाग्लुङ जिल्लासंग जोडिएको थियो। जसबाट त्यतिबेलाको जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट करिब ८० किलोमिटर बढी टाढा थियो। जसका कारण त्यस क्षेत्रलाई रुकुममै गाभ्न बेलाबेला माग समेत गरिएको थियो। केही समयपछि उक्त क्षेत्रलाई रुकुममा गाभियो अनि रुकुमकोट नै सदरमुकाम यथावत भयो जसले गर्दा उनीहरु खुसी समेत भए तर खुसी लामो समयसम्म रहन सकेन। त्यसको केहि समय पछि राजपरिवारसंग राम्रो सम्बन्ध भएका धुब्रबिक्रम शाहको शक्तिको प्रभावले पश्चिमी रुकुमले दरवारलाई रिझाउन सफल भयो।

राजपत्रमा १९७३ को अप्रिल अर्थात २०३० मा सूचना टाँस गरी रुकुमको सदरमुकाम रुकुमकोटबाट मुसीकोट सारियो। यस क्रममा पुर्वी रुकुमेली र पश्चिमी रुकुमेलीबीच झडप पनि भएको थियो। त्यस बेलादेखि पुर्वी रुकुमका बासिन्दा सदरमुकाम खलंगादेखि आक्रोशित र रुष्ट भए। सदरमुकाम रुकुमकोटमै फर्काउन त्यहाँका जनताहरुले शान्तिपूर्णदेखि हिंसात्मक आन्दोलन समेत गरे।

राजपरिवारको निर्णय भएका कारण हजारौंको संख्यामा र हतियारसहित पुर्वी रुकुमका जनताहरुले आन्दोलन गरेको भए पनि कर्फ्यू जारी गरेर आन्दोलनलाई दमन गरियो। यस क्रममा एकको मृत्यु, केही घाइते भएका थिए भने केही आन्दोलनकारीलाई सरकारले गिरफ्तारको वारेन्ट समेत जारी गरेपछि पुर्वी रुकुम राजसंस्था बिरुद्ध लागेको थियो।

त्यसक्रममा उक्त आन्दोलनकारी कम्युनिष्ट पार्टीको सम्पर्क गएर समस्या अझै बलियो बनेको प्रतिवेदनमा उल्लेख छ। माओवादीले पनि उनीहरुको मागलाई समर्थन गर्‍यो। जसका कारण माओवादी जनयुद्ध क्रममा देखि शान्ति स्थापना भएको लामो समयसम्म पनि पुर्वी रुकुममा माओवादीहरुको दबदबा नै रहिरहेको छ। स्थानीय तह निर्वाचनमा पनि सिंगो रुकुममा माओवादी बिजयी भयो। पुर्वी रुकुममा ३ स्थानीय तह र पश्चिमी रुकुममा ६ स्थानीय तह रहेका छन्। पुर्वी रुकुममा छुट्टै अर्को जिल्ला भएसंगै स्थानीय तहमा माओवादीले पुरै जितेको जिल्ला संख्या पनि २ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.