आन्दोलनका कार्यक्रम भने जारी

|

काठमाडौं: सोमबार अज्ञात व्यक्तिले काठमाडौँमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि बिहीबार गरिने भएको छ। महासंघ केन्द्रीय कार्यसमितिको बुधबार साँझ बसेको आकस्मिक बैठकले यो निर्णय गरेको हो।

यसअघि हत्यारा पक्राउ नगरी शव नबुझ्ने निर्णय गरेको महासंघले हत्यारा पक्राउ गरी कानुनी कठघरामा उभ्याउने र शहीद घोषणणा गर्ने आश्वासन गृहमन्त्रीले दिएपछि शव बुझ्न तयार भएको हो। 'गृहमन्त्रीले हामीलाई आश्वस्त तुल्याउनुभयो साथै पारिवारिक संस्कार तीन दिनमा सदगत गर्नै पर्ने र विदेशबाट समेत पाहुना आएको कारण हामी शव बुझ्न तयार भएका हौँ', नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले भने। गौचनकी आमाले समेत पटक पटक सदगतको लागि छिटो गर्न आग्रह गरेको कारण पनि शव बुझ्न बाध्य भएको देउजाले बताए।

श्रद्धाञ्जलिका लागि गौचनको शव बिहीबार बिहान थकाली सेवा समाजमा राखिने र अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको छ। केही समय महासंघको कार्यालय अनामनगरमा राखिएपछि सदगतको लागि लगिनेछ।

बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यवसायीहरूले गौचनको हत्याले राजधानीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको बताएका थिए। उनीहरूले अन्य निर्माण व्यवसायीहरूलाई पनि निरन्तर नम्बर नदेखिने फोनहरू मार्फत् धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजा, जारी आन्दोलन मूल संघर्ष समितिका संयोजक सुकुन्तलाल हिराचन, महासंघका निवर्तमान अध्यक्ष जयराम लामछिाने, प्रवक्ता विष्णु बुढाथोकी, स्वर्गीय गौचनका आफन्तजनलगायतले गौचनका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

बिहीबारको आन्दोलनका कार्यक्रम शुक्रबार हुने

गोली हानी हत्या गरिएका अध्यक्ष गौचनको अन्त्येष्टि गरिने भए पनि आन्दोलनका कार्यक्रम भने महासंघले जारी राखेको छ। बिहीबार शव बुझिने र अन्त्येष्टि गरिने कार्यक्रम भएपछि बिहीबारका कार्यक्रम शुक्रबारलाई सारिएको छ।

आन्दोलनकै कार्यक्रमअन्तर्गत शुक्रबार उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपण्डोलमा बिहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने महासचिव देउजाले बताए। असोज २८ मा देशभरि प्रत्येक राजमार्गमा बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम कार्यक्रम महासंघले राखेको छ।  

बुधबार बिहान महासंघले हत्याको विरोधमा दुई घण्टा र्‍याली निकालेको थियो। महासंघको कार्यलय अनामनगरबाट निकालिएको र्‍यली मातीघर मण्डला, बानेश्‍वर बबरमहल हुँदै पुन: अनामनगरमा गई कोणसभामा परिणत भएको थियो।

१० व्यवसायीलाई सुरक्षा

पटक पटक नदेखिने नम्बरबाट फोन आएपछि निर्माण व्यवसायी महासंघमा आवद्ध १० व्यवसायीलाई सरकारले सुरक्षा दिएको छ।

महासंघको मागबमोजिम गृहमन्त्रालयले पदाधिकारीसहित १० व्यवसायीलाई सुरक्षा प्रत्याभूतिका लागि अधिकारी खटाएको हो। 'अध्यक्षज्यूको हत्या भएपछि हामीलाई पनि नदेखिने नम्बरबाट धम्की आइरहेको छ, यस्तो अवस्थामा हाम्रो मागबमोजिम १० व्यवसायीलाई सुरक्षा दिइएको छ', महासचिव देउजाले भने।

गौचनको हत्यासँगै विशेषगरी महासंघमा मानार्थ सदस्य तथा पूर्व अध्यक्ष जीपछिरिङ लामालाई निशाना बनाइएको बताइएको छ। उनलाई पटक पटक नम्बर नदेखिने फोनबाट फोन गरी चन्दा माग र धम्की दिने गरिएको छ। उनीसहित धम्की आएका व्यवसायीको सुरक्षार्थ सरकारले हतियारसहित एक जना सुरक्षाकर्मी खटाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.