|

पर्वत : पर्वतको फलेवास नगरपालिका– ३ स्थित राम माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १४ वर्षीय नवीन दर्जीको काम पढ्नुबाहेक बिहान बेलुका बाजा बजाएर बस्नु पनि हो। गाउँठाउँमा कसैकोमा बाजा बजाउनु परे उनी विद्यालय नगई बाजा बाजाटोलीमा मिसिन पुग्छन्।

उमेरले सानै भए पनि उनी सबै बाजा बजाउन सिपालु भइसकेका छन्। 'सानैमा हजुरबाबाट सिकेको', नवीन भन्छन्, दाई, बा बिदेशमा छन्। हजुरबा हिँड्नै सक्नुहुन्न। गाउँघरमा बजाउन परे हाम्रै टोलीले सबै बाजा बजाउँछौं। एक दिन बाजा बजाउँदा हामी सबै जनालाई २० हजार जति हुन्छ।'

नवीन जस्तै २० वर्षीय ईश्वर पनि बाजा बजाउन पोख्त छन्। उनले पनि धेरै मिहिनेत गरेर पाको पुस्ताबाट नै बाजा बजाउन सिकेका हुन्। पाका उमेरकाहरु अहिले बजाउन हिँड्न नसक्ने भैसकेका छन भने, युवाहरु रोजगारीका कारण गाउँमा छैनन्। परम्परा धान्नकै लागि बाजा बजाउन हिँडेको बताउँदै ईश्वरले भने, 'बाजा बजाउने हाम्रो संस्कार हो। बा, हजुरबाहरुले बजाउनुभो। पुर्ख्यौली परम्परा जोगाउन पनि हामीले सानैमा सिकेका हौं।'

विवाह, ब्रतबन्ध, चौरासीलगायतका देवकार्यबाहेक कतिपय समुदायमा निधन भएका मानिसको अन्तिम संस्कार गर्दा पनि बाजा बजाउने चलन छ। उनीहरूले बाजा बजाउँदा यति नै लिने भन्ने तोकिएको नभए पनि नजिक र टाढा हेरेर औसतमा दैनिक २० हजार रुपैयाँ लिने गरेका छन्। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बजाइन्छ। नौमतीमा यीबाहेक सहनाई र दमाहा १\१ वटा बढी बजाइन्छ ।  

बाजा बजाउँदा मादक पदार्थ सेवन गर्नेहरुले निउँ खोज्दा १५ वर्षीय सुशील परियारको भोगाइ छ। 'बजाउने काम आए साथीहरूसँगै हिँड्छु', उनले भने, 'रमाइलो  हुन्छ तर बाजामा नाच्दा रक्सी खाएकाहरूले त्यसै निहुँ खोज्छन्। बाजा फाल्छन्, कुटपिट गर्छन्।' 

गाउँघरमा सुख र दुःखमा बाजा चाहिँदा होस वा नेताहरुले भोट माग्दा नै किन नहोस् बाजा सबैलाई चाहिन्छ। शुभ कार्यमा बजाइने नौमती र पञ्चे बाजाको ठाउँ अहिले ब्याण्डबाजा, अडियो र भिडियाले लिएको कारण पनि मौलिक पञ्चे र नौमती बाजा चेपुवामा छन्। बाजा समूहका लागि चाहिने पोशाक र बाजा मर्मतका लागि कसैले नहेर्दा भने उनीहरूलाई खिन्न लाग्दो रहेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.