|

रुपन्देही : ७ असोजमा बजार गएर फर्किदै गरेका गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली (२४), सोही ठाउँका तिलकराम भण्डारी (५१) र पाल्पा तिनाउ गाउँपालिकाका माधव भण्डारी (२८) को बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा पहिरो खसेर च्याप्दा मृत्यु भयो। सिद्धबाबा क्षेत्रको उवडखावड र डरलाग्दो बाटोमा लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक ढुंगासहितको पहिरोमा च्यापिए।

.............

गत २२ साउन शनिबार पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको बसलाई सिद्धबाबा क्षेत्रमै पहिरोले सोहोर्दै तिनाउमा खसाल्यो। जहाँ ३ जनाको मृत्यु भयो।

...........

गत असार २ गते ढुंगासहितको पहिरोले लु १ च १७० नम्बरको कार नै च्याप्यो। लुम्बिनी मेडिकल कलेजमा कार्यरत २ जना डाक्टरले अकालमै ज्यान गुमाए।

......................

२०६२ असोज पहिलोसाता गुल्मीबाट बुटवलका लागि छुटेको यात्रुबाहक बस बुटवल पुग्नै पाएन। सिद्धार्थ राजमार्गको तानसेन–वुटवल खण्डको सिद्धबाबा नजिकै पहिरोले पुरियो। ट्रकलाई साइड दिने क्रममा केहीबेरको ढिलाइले भएको दुर्घटनामा ११ जना यात्रु पुरिए।

..................

२०५५ भदौमा २६ जनाको ज्यान जानेगरी हिलोमाटोसँगै आएको पहिरोले बस तिनाउ खोलामा खस्यो। २०५४ साउनमा ३९ जनाको ज्यान जानेगरी बस सिद्दबाबा क्षेत्रबाटै तिनाउ खोलामा खस्यो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार त्यसकै अघिल्लो वर्ष साउनमा ८ जनाको ज्यान जाने गरी बस खसेको तथ्यांक ट्राफिक प्रहरीसँग छ।

...............

यी त यस क्षेत्रमा ‘नोटिस’मा भएका ठूला घटना हुन्। वर्खा होस् या हिउँद, सानातिना दुर्घटना भइरहेका हुन्छन्। विगत १५ वर्षको तथ्यांक हेर्ने हो भने १ सय ८० किलोमिटरको सिद्धार्थ राजमार्ग (बेलहिया–पोखरा) को तानसेन–बुटवल खण्डको ३८ किलोमिटर सडकको सिद्धबाबा खण्डमा ३ सय भन्दा बढीको ज्यान गएको छ। प्रहरीका अनुसार ७ सय बढी घाइते र अंगभंग भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्य भन्छन् ‘सुरु देखि नै सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र दुर्घटनाग्रस्त क्षेत्र देखिन्छ।’

वर्षेनी सरदर १२ जनाको मृत्यु भएको तथ्यांक प्रहरीसँग छ। कुनै वर्ष ठूलो बस दुघर्टना भएका छन्। पहिरो खसेर, ढुंगा झरेर र दुघर्टना भएर मृत्यु हुने गर्छ। राजमार्गको रुपन्देहीको बुटवल चिडियाखोलादेखि पाल्पा तिनाउको दोभानसम्मको ६ किलोमिटर खण्डमा कतिबेला पहिरो खस्ने हो टुंगै हुन्न। 

सरकारी निकाय मौन

२०२८ सालमा भारतीय इन्जिनियरहरुको डिजाइनमा बनेको सडकमा वर्षेनी कयौं चालक र यात्रुको मृत्यु हुन थालेको वर्षौं बितिसक्यो। तर सरकारी निकाय र जनताका प्रतिनिधि मौन छन्। कयौं पटक अवलोकन, अध्ययन भए तर सडक सुरक्षित बनाउन काम थालिएन। पहिरो जोखिम क्षेत्रमा सुरुङ मार्ग, हाफ टनेल, रकनेट, बेञ्च कट जस्ता विकल्पहरु अघि सारियो। तर अहिलेसम्म सडक सुरक्षित बन्ने सकेको छैन। बुटवल भएर पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, पर्वत, वाग्लुङ, म्याग्दी, मुस्ताङसम्मका यात्रुले प्रयोग गर्ने यो सडक उत्तिकै जोखिमपूर्ण छ, जति १५ वर्ष अघि थियो। 

हरेक वर्ष करोडौं बजेट खर्चेर मर्मत–सम्भार गरिन्छ। तर जोखिम र त्रास घटेको छैन।  प्राविधिकहरुका अनुसार माटोको पत्रले अड्याएको चट्टाने भीर खोस्रेर सडक बनाउनु नै मूल समस्या हो। प्राविधिक भीमसेन कार्की भन्छन् ‘यस क्षेत्रमा हिउँद वर्षा ढुंगा खस्ने र पहिरो जाने गर्छ। यसको विकल्प खोजिनुपर्छ।’ 

यो समस्याको समाधान यो सडकको प्रयोग नगर्नु हो। अर्थात् यसको सट्टामा अर्को विकल्प तयार गर्नु हो। 

जिल्ला विकास समिति पाल्पाका पूर्व सभापति झपेन्द्र जिसी सडकको सुधारका लागि सरकारी निकायबाट चासो नदेखाइएकाले कैयौले अकालमा ज्यान गुमाउनुपरेको बताउँछन्। ‘छिटै नै यो सडकको विकल्प खोजिनुपर्छ’ उनी भन्छन् 'अब पनि विकल्प नखोज्ने हो भने अरु धेरैको ज्यान सिद्धबाबा क्षेत्रले लिनेछ।’

के हुनसक्छ विकल्प ?

अत्यधिक दुर्घटना बढेपछि सिद्धबाबा क्षेत्रको सडक विकल्प खोज्न थालिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत जोखिमपूर्ण सिद्धबाबा क्षेत्रको वैकल्पिक मार्गका रुपमा अघि सारिएको झुम्सा–बेरुवा–चौकीभञ्ज्याङ् हुँदै चरङ्गे धागो कारखानासम्म अध्ययन गरिएको छ।

अत्यधिक दुर्घटना बढेपछि सिद्धबाबा क्षेत्रको सडकको विकल्प खोजीलाई तिव्रता दिइएको हो। पूर्वपश्चिम राजमार्गको बुटवल औद्योगिक क्षेत्रदेखि पाल्पाको झुम्सा–चौकी भन्ज्याङ्–चरङ्गे खण्डमा सडक बनाएर सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ।

यस क्षेत्रको प्रारम्भिक अध्ययनले पाल्पातर्फ ८ किलोमिटर र रुपन्देहीतर्फ ७ किलोमिटर नयाँ कालोपत्रे सडक बनाउनुपर्ने निचोड निकालेको छ। अहिले महेन्द्र राजमार्गसम्म पुग्न तीन किलोमिटर सडक कालोपत्रे भइसकेको छ। नयाँ ट्रयाक खोल्न तीन किलोमिटर बाँकी छ।

जिल्ला समन्वय समिति पाल्पाका आयोजनामा दुई नगर र आठ गाउँपालिकाका प्रमुखका साथै राजनीतिक दल, नागरिक समाज, सरकारी अधिकारीको वैठकले तत्काल सिद्धबाबा क्षेत्र सडकको वैकल्पिक मार्ग खोज्नुपर्ने निष्कर्ष निकालेको हो। 

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको नेतृत्वमा तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती, बगनासकाली गाउँपालिका प्रमुख कृष्णप्रसाद बस्याल, रिब्दीकोट प्रमुख नारायण जीसी, सम्बन्धित वडाअध्यक्ष प्रेमप्रसाद पाण्डेय लगायतको टोलीले झुम्साबाट पैदल यात्रा गरी राजमार्गसम्मको बाटो अवलोकन गरेका हुन्।

सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्मको सुरुङमार्ग, हाफ टनेल, बेञ्च कट, रकनेटलगायत आधा दर्जन प्रविधि अपनाउन सकिने बहस चलेको थियो। तर, अहिलेसम्म सडक सुरक्षित हुन सकेको छैन, बर्सेनि यात्रुले त्रासपूर्ण यात्रा गर्नु परिरहेको छ।

सिद्धबाबा सडक सुरक्षित बनाउन अरु पनि विकल्प नभएका होइनन्। इन्जिनियर पवित्रमणि आचार्यका अनुसार सिद्धबाबा क्षेत्रको पहाडमा बेन्चकट प्रविधि अपनाउन सकिन्छ। हाफ टनेल निर्माण गर्ने, तिनाउ नदीमाथि फ्लाई ओभर पुल निर्माण गर्ने, रकनेट प्रविधि अपनाउन र वैकल्पिक मार्ग निर्माण विकल्प हुने उनले बताए।

सुरुङमार्ग निर्माणका लागि महंगो पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार एक किलोमिटर सुरुङ निर्माणका लागि चार अर्ब रुपैयाँ लगानी लाग्छ। करिब १२ अर्ब रुपैयाँ लगानी गरेमा तीन किलोमिटर सुरुङ तयार हुने अध्ययनले देखाएको छ। सडक विभागले सुरुङ मार्गसँगै भेन्टिलेसन, चौबीसै घन्टा विजुली बत्ती राख्नुपर्दा लागत बढी हुने बताइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.