|

बाँकेः आफ्नो भूमिमा पुगेपछि केही राहत मिल्ला भन्ने आशामा नेपाली भूमिमा छिरेका नेपालीहरू आफ्नै देशका सुरक्षाकर्मीबाट प्रताडित हुने गरेका छन्। ठाउँठाउँमा सुरक्षाकर्मीले केरकार पार्दा नेपालीलाई सुरक्षा महसुसभन्दा त्रास पैदा हुने गरेको छ। 

नेपाली भूमिमा पाइला टेकेपछि सुरक्षित महसुस भई मन हलुका हुन नपाउँदै नेपाली सुरक्षाकर्मीको तनाव खेप्नुपर्दा साह्रै नमज्जा लाग्ने गरेको भारतको सिमलाबाट तिहार मनाउन घर फर्किंदै गरेका सल्यान घाँझरी पीपलका रामबहादुर खत्रीले गुनासो गरे। ‘नेपाल पुगेपछि ढुक्क भइएला भन्ने लागेको थियो, यहाँ त झन् पाइलैपिच्छे जाँच गरेर त्रसित बनाइँदोरहेछ। सामान देखाउँदा र परिचय दिएर हैरान भयो’, उनले भने, ‘आफ्नो देशमा पुग्दा मन ढक्क फुल्नुपर्ने हो, तर ठाउँठाउँमा सुरक्षाकर्मीले चेकजाँच गरेर उल्टै त्रसित पारे।’ 

मोटरसाइकल र कारमा भन्दा प्रहरीको आँखा साइकल, रिक्सा र अटोरिक्सामा बसेका यात्रुतिर जाने गरेको पीडित बताउँछन्। ठूला व्यापारी र अवैध कारोबार गर्नेहरू भन्दा घरायसी सामान किनमेल गरेर फर्किने नेपालीमाथि आँखा जाने गरेको उनीहरूको भनाइ छ। ‘जमुनाहबाट सुरु भएको चेकजाँच चौलिका चोक नपुग्दासम्म सकिन्न’, घरायसी सामान किनेर रूपेडिहाबाट फर्किंदै गरेकी कोहलपुर नगरपालिका– ५ की सरिता भट्टराईले भनिन्, ‘सामान राखेको झोला खोलेर हैरान बनाउँछन्, यसले मनमा त्रास पैदा हुन्छ।’

पाइलैपिच्छे प्रहरीको छुट्टाछुट्टै चेक पोष्ट
नेपाल–भारत सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार कार्यालयको संयुक्त चेक पोष्ट छ। सुरुमा नेपाल प्रहरीले सामान चेकजाँच गरेपछि सशस्त्र प्रहरीको टोलीले सामान जाँच गरेर पठाउँछ। संयुक्त चेक पोष्टमा खटिएका कर्मचारीले कसैलाई भन्सार राजश्व तिराउँछन् भने कसैलाई त्यसै जान दिन्छन्।

जमुनाह नाकाको करिव एक किलोमिटरको दूरीमा नेपालगन्ज भन्सार कार्यालय छ। भन्सार कार्यालयको गेटमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीले कडाइका साथ जाँच गरेर मात्र अगाडि बढ्न दिन्छन्। भन्सारको गेट कट्नासाथ २०० मिटर उत्तरमा नेपाल प्रहरीको टोलीले फेरि पनि उही व्यक्तिको सामान चेकजाँच गरेर नेपालगन्जतर्फ पठाउँछ। त्यहाँ सीमा प्रहरी चौकीको टोली चेकजाँचका लागि खटिँदै आएको छ।

लगातार तीन ठाउँमा चेकजाँच गराएकाहरू चौलिका चोक नपुग्दै फेरि सशस्त्र प्रहरीको केरकारमा पर्छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोलीले भारतबाट आउँदै गरेकाहरूको झोला चौलिका चोकमा जाँच गरेपछि मात्र सर्वसाधारण सुरक्षाकर्मीबाट छुटकारा पाउने गरेका छन्।

एउटै व्यक्तिलाई प्रहरीले चार ठाउँमा चेकजाँच गरे पनि तरिका वैज्ञानिक भने छैन। सबै ठाउँका सुरक्षाकर्मीले झारा टार्ने हिसाबले झोला र सामान जाँच गर्दै आएको नेपालगन्ज– १८, मनिकापुरका प्रमोद गुप्ताले बताए। उनले वैज्ञानिक तरिकाले एक ठाउँमा मात्र जाँच गर्ने व्यवस्था हुनुपर्ने बताए। ‘धेरै ठाउँमा चेकजाँच गरेर सर्वसाधारणलाई दुःख दिनुभन्दा वैज्ञानिक तरिकाले एक ठाउँमा मात्र जाँच गर्ने व्यवस्था मिलाउन सके सर्वसाधारणलाई सास्ती कम हुने थियो’, उनले भने। 

अवैध ओसारपसार नियन्त्रणका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। उनले भन्सारमा सामान चेकजाँचका लागि नभई रकम सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए। उनले जयसपुरमा दुईतिर बाटो भएकाले सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी खटिने गरेको बताए। उनले जयसपुरस्थित मूल सडकमा प्रहरीले चेकजाँच गर्न आवश्यक नभएको आफूलाई पनि लागेको स्वीकार गरे। ‘यसलाई सुधार गर्न सकिन्छ, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई मुख्य सडकमा नभई साइडका सडकमा मात्र चेकजाँच गर्न तत्काल निर्देशन दिनेछु’, उनले भने।

अवैध सामान नियन्त्रणका लागि भन्सारमा राजश्व तथा भन्सार सुरक्षा गुल्म छ भने बाँकेमै सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्म पनि छ। तर पनि सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरले नेपालगन्ज–जमुनाह सडक खण्डको चौलिकामा पोष्ट खडा गरेर प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गर्दै आएको छ। मुख्य सडकमा पोष्ट राखेर चेकजाँच गर्ने दायित्व आफ्नो नभए पनि राज्यको अंग भएकाले भन्सारलाई सहयोग पुर्‍याउन चेक पोष्ट स्थापना गरेर चेकजाँचलाई निरन्तरता दिएको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक फणीन्द्र पौडेलले बताए। 

उनले चेक पोष्ट राखेर चेकजाँच गर्दा सर्वसाधारणलाई असहज भएको महसुस आफूले पनि गरेको बताउँदै भन्सार छलेर भाग्नेहरूलाई नियन्त्रणमा लिन सुरक्षा पोष्ट राखेको बताए। ‘हाम्रो एउटै उद्देश्य राजश्व छली रोक्ने र भन्सारको राजश्व वृद्धि गर्ने नै हो’, उनले भने, ‘सबैलाई नराख्दा उपयुक्त लाग्छ भने हटाउन तयार छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.