|

काठमाडौं : हालै विना विभागीय बनाइएका निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाहीले आफूले ८३ दिनमा गरेको १९ वटा महत्वपूर्ण काम सार्वजनिक गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रबाट शाहीले उर्जामन्त्रीको जिम्मवारी पाएकाथिए। साउन ११ गते मन्त्री बनेका उनलाई प्रधानमन्त्री देउवाले असोज ३१ गते विना विभागीय बनाइदिएका थिए।

मन्त्री शाहीले आफूले मन्त्रालय सम्हालेको ८३ दिनमा  अनलाइनबाट विद्युत महसुल भुक्तानी प्रणालीको सुरुवातसहित १९ वटा महत्वपूर्ण काम गरेको दावी गरेका छन्। मन्त्री शाहीले कर्णालीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत जोड्ने काम सुरु गरिएको, पञ्चेश्वर परियोजनाको काम अघि बढाइएको बताएका छन्।

हेर्नुस् मन्त्री शाहीले सार्वजनिक गरेका १९ उपलब्धि

१. मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था गरी हाल सो सेवा काठमाडौं, पोखरा, भरतपुर, नेपालगन्ज, सुर्खेत, गुलरिया, कोहलपुर आदि स्थानमा सञ्चालन गरिएको र केही दिनमै देशभर सञ्चालनमा ल्याइने कार्य पहिलो पटक थालनी गरिएको।

२. विद्युत खरिद बिक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित वनाउन व्यवस्थापिका संसद्बाट विधेयक पारित गराई विद्युत नियमन आयोग ऐन तयार गरिएको।

३. कर्णाली करिडोर अन्तर्गतको ४०० केभीए प्रसारण लाइनको डीपीआर सुरु गरी सो आयोजनाको लागि आवश्यक जग्गा अधिग्रहणको काम समेत अगाडि बढाइएको।

४. विद्युतको केन्द्रीय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत सेवा आपूर्ति गर्न आवश्यक व्यवस्था गरी काम प्रारम्भ गरिएको।

५. विद्युत उत्पादन कम्पनी मार्फत फुकोट कर्णाली लगायतका आयोजनाहरुको अध्ययन कार्य शुरु गरिएको साथै फुकोट कर्णाली जलविद्युत आयोजनामा कर्णालीका स्थानीय जनता तथा निजामति लगायत  सार्बजकि सेवामा रहेका कर्मचारीहरुको शेयर लगानीको सुनिश्चितता गरिएको। नगद लगानी गर्न नसक्ने जनतालाइ श्रमदान मार्फत शेयर लगानी गर्ने व्यवस्था मिलाइएको।

६. मोवाइल एप्लिकेशन तथा टोल फ्रि हटलाइन नम्बर ११५१ बाट जनगुनासो प्रत्यक्ष रुपमा सुनेर सिघ्रातिसिघ्र समाधान गर्ने व्यवस्था गरिएको।

७. चीन सरकारसँग विद्युत व्यापारको लागी सम्झौता पत्रमा हस्ताक्षर भई व्यापारको प्रक्रिया अघि बढाईएको ।

८. राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत आपूर्ति सहज बनाउन ४०० केभीए को प्रशारण लाइनको गुरुयोजना तयार गरि आवश्यक काम अगाडी बढाइएको।

९. सोलारबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेट मिटरिङ प्रणाली शुरु भएको।

१०. प्रशासनिक सुधारका कामहरु अगाडि बढाइएको। जस्तै जनताको कामहरु छिटोछरितो प्रभावकारी तरिकाले गर्ने व्यवस्था गरिएको। प्रत्येक कार्यालयमा सोधपुक्ष कक्ष, सहजकर्ता राख्ने, कर्मचारीहरुलाई सुव्यवस्थित राख्ने कार्यलाई जनमुखी बनाइएको।

११. लामो समयबाट रोकिएको वगास(ऊखु) बाट विद्युत उत्पादत गर्ने योजना हाल विद्युत उत्पादन लाइसेन्स दिएर उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने तयारीमा रहेको।

१२. लामो समयबाट रोकिएको कुलेखानी तेस्रो, चमेलिया, त्रिशुली ३ ए तथा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीबाट निर्माणाधीन अपर तामाकोशी, रसुवागढी, मध्य भोटेकोशी, सन्जेन जस्ता आयोजनाहरु  द्रुत गतिमा अगाडि बढाइएको।

१३. देशभर रहेका ने.वि.प्रा. अन्तर्गत रहेका वितरण केन्द्रबाट बाँकी बक्यौता असुल तथा चुहावट कम गर्ने कार्यमा तिव्रता दिइएको।

१४. लामो समयबाट विद्युत उत्पादन अनुमतिपत्र लिइ काम नगरेका आयोजनाहरुको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाइएको।

१५. चमेलिया जलविद्युत आयोजना यही हिउँदअघि उत्पादन हुने व्यवस्था मिलाइएको।

१६. आर्थिक वर्ष २०७४/७५ भित्र सम्पन्न हुने आयोजनाहरुलाई समयमै सम्पन्न गर्न विशेष पहल गरिएको।

१७. पूर्वदेखि पश्चिमसम्म तराई र मध्य पहाडमा ४०० केभीए प्रसारण लाइन,  न्यू बुटवल –गोरखपुर तथा गल्छी केरुङ क्रसबोर्डर ४ सय केभी प्रसारण लाइन, कर्णाली, सेती, भेरी लगायतका नदी वेसिनमा ४०० केभीए प्रसारण लाइनलाई आगामी ५ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी योजना अगाडि बढाइएको।

१८. सुस्त गतिमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई प्रभावकारी बनाई आयोजनाको काम द्रुत गतिमा अघि बढाइएको।   

१९. संविधान वमोजिम विद्युत क्षेत्रको प्रादेशिक र स्थानीय तहमा प्रशासनिक तथा संस्थागत संरचना खडा गर्न प्रदेश नं. ६ मा समेत नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको क्षेत्रिय कार्यलय स्थापना गरिएको।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.