|

धनकुटा : प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा मतदाता संख्या एक लाख ५ हजार १ सय ८८ रहेको छ। स्थानीय तहको निर्वाचनमा भन्दा ९ हजार ८ सय १६ मतदाता थपिएका छन्। गत असारमा स्थानीय तह चुनाव हुँदा जिल्लामा ९५ हजार ३ सय ७२ मतदाता थिए।

“जिल्लामा स्थानीय तहको निर्वाचनमा ६९ हजार १६ मत खसेको थियो,“ निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले भने, '२६ हजार ३ सय ५६ मत खसेको थिएन, तर, नयाँ मतदता ९ हजार ८ सय १६ थपिएकाले केही बढ्ने देखिएको छ।’

 पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा मत खसाल्न नआएकाहरु यसपटक आउने भएका छन्। ‘स्थानीय तहको निर्वाचनमा भोट माग्न हिँडेकाले समेत भोट दिन पाएको देखिएन,’ पौडेलले भने, ‘अहिले ती नयाँ मतदाता भोट हाल्ने पर्खाइमा मतदाता नामावली बनाएर बसेका छन्।’

कुन क्षेत्रमा कति मतदाता?

नयाँ निर्वाचन क्षेत्र अनुसार धनकुटामा एक वटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम भएको छ। प्रतिनिधिसभाका लागि जिल्लाभरिका एक लाख ५ हजार १ सय ८८ मतदाता रहनेछन्। जिल्लाको चौबिसे र साँगुरीगढी गाउँपालिकाको पुरै भूभाग तथा धनकुटा नगरपालिकाका १,३,४,५,६,७,८,९ र १० वडा तथा शहीदभूमिका १,२,३,६ र ७ वडा मिलाएर बनाइएको प्रदेशको क्षेत्र नम्बर १ मा ५५ हजार २ सय १८ मतदाता रहेका छन्। जसमा २७ हजार १ सय १० जना पुरुष र २८ हजार १ सय ८ जना महिला मतदाता रहेका छन्।

यसैगरी, छथर जोरपाटी गाउँपालिका, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको सबै भूभाग तथा धनकुटा नगरपालिकाको २ नम्बर वडा र शहीदभूमि गाउँपालिकाको ४ र ५ वडा मिलाएर बनाइएको प्रदेशको क्षेत्र न २ मा जम्मा मतदाता ४९ हजार ९ सय ७० छन्।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा १ सय १७ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहने भएका छन्। जसमा प्रदेशको क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र ८३ मतदान केन्द्र रहनेछन्। प्रदेशको क्षेत्र नम्बर २ मा ५५ मतदान स्थल र ७० मतदान केन्द्र रहने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.