|

झापा : भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे एच ४ छाप्रो नम्बर २० की १७ वर्षिया पृतिका गुरुङले गत वर्षदेखि तिहार मनाएकी छैनन्। एक्लो दाजु पृतम गत असोजमा तेस्रो मुलुक पुनर्वासअन्तर्गत अमेरिका गएपछि उनको तिहार खल्लो भएको हुन थालेको छ।

दसैंतिहारजस्ता पर्व निकै हर्षोल्लासपूर्ण वातावरणमा मनाउने उनले दसैं त बुबाआमाको साथमा रमाइलैसँग मनाइन्, तर तिहार निकै खल्लो लागेको छ। ‘गतवर्ष पनि दाइलाई सम्झिएर रुँदै बसेँ, यो वर्ष पनि उस्तै छ,’ गुरुङले भनिन्, ‘अरुका दाइले गिफ्ट ल्याइदिएको देख्दा, अनि मैलेचाहीँ टीका लगाउन पनि नपाउँदा धेरै नराम्रो लाग्छ।’

जन्मिएदेखि जीवन सधैँ दुःखमै बितेको उनको गुनासो छ। परिवार भुटानबाट लखेटिएर नेपाल आएपछि नै जन्मिएकी उनले भनिन्, ‘मैले थाहा पाउँदादेखि नै यसरी दुःखै-दुःखमा जिन्दगी बिताउनु परेको छ, कहिले रासन कटौती हुन्छ त कहिले हावाहुरीले छाप्रोमा बसिसक्नु हुँदैन, झन् परिवारका सदस्यको विछोडले पीडा थपेको छ।’ उनले अघि भनिन्, ‘अब त चाडपर्व पनि आउन छाड्यो, परिवारको एक सदस्य एक देशमा र अर्को अर्कै देशमा छन्, यस्तो अवस्थामा कसरी मनाउनु चाडबाड?’

बेलडाँगी शिविर आइ ४ छाप्रो नम्बर ९५ का कुमार धिमलले पनि ३ वर्षदेखि मन खिन्न बनाएर चार्डपर्व मनाइरहेका छन्। दुई बहिनी र ३ भाइ तेस्रो मुलुक पुनर्वास भएपछि उनी शिविरमा एक्लै छन्। उनलाई पनि तिहार नआएको ३ वर्ष भयो। निधार पनि खाली छ।

‘भुटानमा हुँदा हामी ४ जना छोरैछोरा जन्मियौँ। छोरी नजन्मिएको भनेर बुबाले दोस्रो विवाह गर्नुभयो। त्यसपछि दुवै आमाबाट छोरी जन्मिए, दुई बहिनी हुँदा निकै खुसी थियौँ,’ उनले भने, ‘अहिले फेरि ३ वर्षदेखि एक्लै छु, निधार खाली छ।’ उनका दुवै बहिनी तेस्रो मुलुक पुनर्वास भएका छन्।

यस्तै पीडा पथरीशनिश्चरे एच ४ छाप्रो नम्बर ५६ का लक्ष्मण राईको पनि छ। एउटा भएको दाइ र दुई बहिनी तेस्रो मुलुक पुनर्वास भएका छन्। ‘भुटानमा हुँदा त धेरै मज्जाले दसैँतिहार बनाउने गर्थ्यौँ, नेपाल आएर पनि २३ वर्षसम्म बहिनीहरुको हातबाट टीका लगाएँ, दाइ पनि संगै हुनुहुन्थ्यो, तर अहिले त कोही छैन कसरी मनाउनु र?’ अरुले देख्दा अमेरिकाबाट टन्न पैसा पठाउँछन् भन्ने भए पनि यथार्थमा त्यस्तो नहुने उनी बताउँछन्। राईले भने, ‘अरुले देख्दा त पैसा पठाउँछन्, रमाइलोसंग बसेको देखिन्छ, तर त्यस्तो छैन, उहाँहरुलाई पनि त्यहाँ सेटल हुन नै धेरै समस्या छ।’

प्रविधिले नजिक बनाए पनि दसैंतिहारका बेला भने त्यसले पनि काम नगर्ने उनी बताउँछन्। ‘दसैंतिहारमा अमेरिकामा दाइ र बहिनीहरुको छुट्टी हुँदैन, मेसेन्जर/भाइबरमा बोल्न पनि पाइँदैन। यहाँ दिउँसो हुँदा त्यहाँ राति हुन्छ,’ उनले भने।

अरुबेला जसोतसो दिन बिताइरहे पनि चाडबाडका बेला निकै नरमाइलो हुने गरेको राईको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.