यस्तो छ स्थानीय तहमा प्राप्त मतको लेखाजोखा र मत माग्ने आधार

|

गोरखा : सशस्त्र संघर्षको बेला फरकफरक विचार र नेतृत्व बाट राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पार्टी एकतापछि माओवादी पार्टीमा रहेर राजनीति गरे।

लामो समयसम्म एउटै पार्टीमा रहेर एउटै वैचारिक धारको वकालत गरेर राजनीति गरेका यी गोरखाली राजनीतिक हस्ति अहिले राजनीतिक र वैचारिक रुपमा नदिका दुई किनारा भएका छन्। बाबुराम भट्टराई नयाँ शक्ति पार्टीको संयोजकको रुपमा राजनीति गरिरहेका छन् र नेपाली कांग्रेसँग सहकार्य गरिरहेका छन् भने नारायणकाजी श्रेष्ठ माओवादीमा सकृय छन्। उनी अहिले एमाले र माओवादी गठबन्धनबाट चुनावी मैदानमा छन्।

राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएका यी दुई नेता अहिले एकअर्काका प्रतिस्पर्धी बनेका छन्। बाबुराम र नारायणकाजी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा एकअर्काको प्रतिद्न्दी बनेका छन्। उनीहरु यसरी प्रतिद्वन्दी बन्नुको कारण गोरखा क्षेत्र नम्बर २ दुबै नेताको गृहक्षेत्र हो।

गाह्रो छ आँकलन

बाबुराम र नारायणकाजी दुबैले चुनावी प्रचारप्रसारको तयारी गठबन्धनका नेतालाई साथमा लिएर मतदाताकोमा जाने बताइरहेका छन्। दुबै नेता मत माग्न गाउँ छिर्दा उस्तै उस्तै दृश्य हुनेछ- साथमा आफ्नाका साथै सहयोगी दलका नेता।

यस अघिका दुई निर्वाचन- संविधानसभा २०६४ र २०७०, माओवादीका उम्मेदवार बनेर भोट मागेका बाबुराम निर्वाचित भएका थिए। उनले त्यतिबेला माओवादीको चुनाव चिह्न 'गोलाकारभित्रको हँसिया हथौडा'मा भोट हाल्न आग्रह गरेका थिए र जिते पनि। तर, बाबुराम अहिले माओवादी रहेनन्। उनी नयाँ शक्ति पार्टी, नेपालको संयोजकका रुपमा 'आँखा' चुनाव चिह्नमा भोट हाल्न आग्रह गर्दैछन्।

डा. बाबुराम भट्टाराईले नेपाली कांग्रेसँग गठबन्धन गरेर अगाडि बढेपछि नारायणकाजी श्रेष्ठ पनि ढुक्क हुने अवस्था छैन। जसको छनक स्थानीय तह निर्वाचनले पनि देखाएको छ। गोरखाका ९ स्थानीय तहमध्ये सातमा नेपाली कांग्रेले जितेको थियो भने आफ्नो किल्ला मानेको माओवादीले दुई तह मात्र जित्यो। जसको कारण थियो माओवादीमा आएको फूट र नेता भट्टराईको पार्टीबाट बहिर्गमन। यो अवस्थामा बाबुराम र नारायणकाजी मध्ये कसले जित्ला? आँकलन गर्न गाह्रो छ।

स्थानीय निर्वाचनका मतको लेखाजोखा

माओवादी-एमालेको वाम गठबन्धनबाट उठेका नारायणकाजी र नयाँ शक्ति-कांग्रेसको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका बाबुरामको स्थानीय तहको मत अन्तर झिनो छ। यी दुई गठबन्धनको गोरखा क्षेत्र नम्बर २ को मतान्तर जम्मा १ सय ५८ छ। ९० हजार ८२६ मतदाता रहेको गोरखामा स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १७ हजार ८८ र नयाँशक्तिले ७ हजार ८७७ मत पाएका थिए। दुवै पार्टीको मत जोड्दा २४ हजार ९६५ हुन्छ। यस्तो अवस्थामा ७ हजार मत ल्याएको बाबुराम र उनको पार्टीले १७ हजार मत ल्याएका कांग्रेसी मतदाताको मन जित्नुपर्ने हुन्छ।

अर्कोतिर स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनको प्रमुख घटक एमालेले ७ हजार २०८ र नारायणकाजीलाई उम्मेदवार बनाएको पार्टी माओवादी केन्द्रको १७ हजार ९१५ मत छ। गबन्धनका यी दुई पार्टीको मत जोड्दा २५ हजार १२३ हुन्छ।

स्थानीय तह निर्वाचनको यो अंकगणितलाई आधार मान्ने हो भने यी दुई नेतालाई जित्छु भनेर ढुक्क हुने अवस्था छैन।

दुबैको गृहनगरको के छ अवस्था?

डा. बाबुराम भट्टराइको गृहनगर पालुङटार नगरपालिका नयाँ शक्तिको सबै भन्दा धेरै मतदाता भएको क्षेत्र हो। भट्टराई उमेद्वार हुने भएपछि उक्त क्षेत्रमा नारायणकाजीको भन्दा बाबुरामले बढी मत पाउने निश्चित छ। अहिले क्षेत्र नम्बर २ मा गाभिएको गोरखा नगरपालिकाको केही वडाहरुमा पनि नयाँ शक्तिको पहुँच कम छैन।

पालुङ्टार नगरपालिकामा स्थानीय चुनावमा नयाँशक्तिले ३ हजार ९७६ मत ल्याएको थियो। त्यहाँ कांग्रेसले ४ हजार ६९८, माओवादी केन्द्रले ४ हजार ४९१ र एमालेले २ हजार ४१० मत ल्याएका थिए।

उता नारायणकाजीको गृह गाउँपालिका सिरानचोकमा पनि नेपाली कांग्रेसले जितेको थियो। नयाँ शक्तिले केही वडामा जितेको थियो। त्यस्तै, श्रेष्ठको गृह गाउँ जौँबारी भने अधिकांश मत उनलाई जाने निश्चित छ। माओवादी र एमालेका मतदाता रहेको मानिएको अर्को गाउँपालिका अजिरकोट जिल्लामै सबै भन्दा बढी मतदाता रहेको क्षेत्र हो जसमा कांग्रेसको पल्लाभारी छ। कांग्रेसले नयाँ शक्तिका उमेद्वारलाई कति भोट हाल्छन त्यसैमा भट्टराईको जित निर्भर रहेको आँकलन गरिएको छ।

डा. बाबुराम भट्टराईले माओवादी छोडेर वामपन्थ त्यागेर कांग्रेससँग तालमेल गरिसकेकाले कांग्रेसमा आस्था राख्ने मतदाताले भट्टराईलाई भोट हाल्ने कांग्रेस गोरखाका नेता सुकदेव दवाडीको तर्क छ।

‘बाबुरामलाई नदिए त झन माओवादीले जित्छ। त्यसैले बाबुरामलाई नदिई सुखै छैन’ उनी भन्छन्। एउटा कुरा के प्रष्ट छ भने सबै कांग्रेसले भट्टराईलाई भोट भने हाल्ने छैनन्। भट्टराईलाई नगएको भोट श्रेष्ठलाई पनि जाने छैन।

श्रेष्ठ अहिलेको हिसाबकिताबको आधारमा सुलिकोटमा केहि बलियो छन्। सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले जितेको क्षेत्र हो। उनलाई फाइदा के पनि छ भने सुलिकोट गाउँपालिका अध्यक्ष जितेका विष्णु भट्ट नारायणकाजी निकटका नेता मानिन्छन्। उनी नारायणकाजीको प्रचारमा हिँड्न थालिसकेको बताउँछन्। अहिले श्रेष्ठ र भट्टराई प्रतिष्पर्धामा उत्रेको २ नम्बर क्षेत्रमा सुलिकोट गाउँपालिका मात्रै माओवादी केन्द्रले जितेको छ।

के भनेर माग्दैछन् भोट?

डा. बाबुराम भट्टराई आफू अर्थमन्त्री, प्रधानमन्त्री भएको बेला गोरखामा गरेको विकासलाई आधार बनाएर आफूलाई भोट हाल्नुपर्ने आधार दिइरहेका छन्। त्यस्तै उनी श्रीमति हिसिला यमी भौतिक योजना मन्त्री भएको विकासका कारण पनि आफूले नै जित्नुपर्ने दावी गरिरहेका छन्। उनी भन्छन्, ‘मैले गोरखाको विकासको नक्सा कोरेको छु, काम गरेर त्यसमा रङ भर्न जनताले फेरी एक पटक मलाई जिताउने छन्।’

उता नारायणकाजी श्रेष्ठ गोरखा माओवादीको आधार भूमी रहेको र आफू माओवादी भएकोले जित्नुपर्ने दलिल पेश गरिरहेका छन्। नारायणकाजी भन्छन्- हिजोका दिनमा बाबुराम व्यक्तिले गोरखाको विकास गरेको होइन। त्यो पार्टीले विकास हो, म निर्वाचित भएपनि त्यो विकासको काम जारी रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.