|

पर्वत : कतिपय बजारमा अदुवाले माग धान्न नसकिरहेको बेला पर्वतमा उत्पादित अदुवाले बजार नपाएपछि कृषक मर्कामा परेका छन्। जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ खुरकोटका कृषकहरुले हरेक वर्ष उत्पादन गरेको अदुवाले बजार बारीमै कुहिने गरेको छ।

खुरकोटस्थित कोटगाउँकी लक्ष्मी क्षेत्रीले विगत ९ बर्षदेखि अदुवा खेती गर्दै आएकी छन। वर्षमा झन्डै ७ क्विन्टल अदुवा उत्पादन गर्ने क्षेत्री अदुवाखेतीबाट भने निराश बन्न बाध्य छन्। आफूले उत्पादन गरेको अदुवाले बजार नपाएपछि उनलाई  अब अदुवा उत्पादन गर्ने कि नगर्ने? भन्ने चिन्ता लागेको छ।

खाडलमा कुहिएको अदुवा देखाउँदै क्षेत्री भन्छिन्, ‘यो गाउँमा हरेक वर्ष जति पनि अदुवा उत्पादन हुन्छ तर, कसैले नकिन्दा बारीमै कुहिएको छ। अब यो वर्ष हेरौँ, अनि म यो अदुवाको संगत नै गर्दिनँ। आठ हजारको बीउ किनेकी हुँ, एक रुपैयाँको नि बिकेको छैन।’

खुरकोटकै सालबोटका महेश्वर शर्मा पौडेलले अदुवाको एक क्विन्टल बीउ प्रतिकेजी ७० रुपैयाँको दरमा खरिद गरेर खेती गरे। उनले उत्पादन गरेको झन्डै आठ क्विन्टलमध्ये झन्डै चार क्विन्टल जति प्रतिकेजी २० रुपैयाँका दरमा बिक्री भयो। तर, बाँकी रहेको ४ क्विन्टल अदुवा घर नजिकैको खाडलमा कुहिएको छ।

अदुवाले बजार नपाउँदा यो खेतीबाट हैरान परेका अर्का उत्पादक खेमराज पोखरेलको पीडा पनि अरूभन्दा कम छैन। त्पादित अदुवालाई बिक्रीका लागि शर्माले सदरमुकामसम्म बोकेरै पनि लिएर गए।

 तर, बजारका तरकारी पसलेहरुले कौडीको भाउमा अदुवाको मूल्य सुनाउँदा उनलाई अदुवा खेती गरेकोमा पछुतो लागेको छ। ‘अब अदुवा खेती नै छोडीदिने विचार गरेको छु। यो देशमा गरे के हुन्न? सबैले भन्छन्। खोइ गरेर त के नै पो भयो र ?’ उनले दुखेसो सुनाए।

यी प्रतिनिधि कृषकहरुसहित खुरकोटमा बर्सेनि झन्डै ५ देखि ७ टनसम्म अदुवा उत्पादन हुन्छ। तर, उत्पादनको करिब १५ प्रतिशत अदुवा त्यो पनि निकै सस्तो दरमा बिक्री हुन्छ। खुरकोटमा जस्तै पर्वतका अन्य ठाउँमा उत्पादित अदुवा पनि बजारको अभावमा खाडलमा कुहिने गरेको छ।

बजारको आशामा हरेक वर्ष अदुवा फलाउने कृषकहरु अब भने आजित भएका छन्। जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी भन्छन्, ‘सरकारले नीतिगत रूपमै बजार व्यवस्थापनमा पहल गर्नुपर्छ।  स्थानीय स्तरमा अलि अलि बिक्रि हुन्छ। तर, यहाँको अदुवा पर्वतबाहेक अन्य जिल्ला र विदेशमा निर्यात हुन नसक्दा जिल्लामा उत्पादित अदुवा त्यसै खेर गइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.