बैतडीः खर काट्न गएकी डिलासैनी गाउँपालिका– ६ गोकुलेश्वरकी अनिता विष्ट गत बिहीबार बिहान भीरबाट दुई सय मिटर तल खसिन्। उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बिहीबार नै मृत्यु भयो।
असोज ३१ गते पनि सुर्नया गाउँपालिका– ४ मेलडाँडाकी ३२ वर्षकी जुनकिरी लुहारको खर काट्ने क्रममा भीरवाट लडेर मृत्यु भएको थियो। दसैँको दिन खर काट्ने क्रममा दशरथ चन्द नगरपालिका– ७ सुर्कालममा एक महिला घाइते भइन्।
ज्यानकै बाजी लगाएर घाँस काट्न कठिन भीरमा जाँदा यहाँका महिलाले अकालमा ज्यान गुमाउँदै आएका छन्। हिउँद र बर्खा दुवै सिजनमा घाँसको जोहो गर्न भीरपाखा चढ्ने गरेका छन्। यही क्रममा भीरबाट खसेर मृत्यु र अंगभंग हुनेको संख्या धेरै छ।
बैशाखपछि महिलाहरू हरियो घाँसको खोजीमा आउजाउ गर्नै कठिन भीरमा जान्छन्। बर्खामा हरियो घाँसको खोजीमा र हिउँदमा खर काट्न ठूला भीरमाथि चढ्दा खसेर ज्यान जाने गरेको हो। हिउँदका लागि घाँस सुकाएर खर बनाउने चलन छ। ‘गाईभैँसी पाल्न खर थन्क्याउनै प¥यो’, पुर्चौडी नगरपालिका– १० विजयपुरकी हरिना महराले भनिन्, ‘पुरुषजति विदेश जाने हुँदा यो काम महिलाकै काँधमा हुन्छ।’
भदौदेखि मंसिरसम्म खर काट्न कठिन भीरमा ज्यानकै बाजी लगाएर चढ्ने गरेका छन् यहाँका महिला। यी चार महिनामा भीरमा खसेर ज्यान गुमाउनेको संख्या बढी हुन्छ। गाउँका महिलाबीच चाँडो खर थुपार्ने होड चल्ने गरेको छ। छिट्टै काटिसक्ने र अप्ठ्यारो ठाउँसमेत नछाड्ने गरेको स्थानीय बताउँछन्। सुख्खा माटोबाट चिप्लिएर तथा भीर चढ्दा र फर्कंदा बढी खस्ने गरेका छन्।
साँघुरो बाटोमा भारी बोकेर ल्याउँदा खस्नेको संख्या बढी हुन्छ। प्रायः खेतबारीमा घाँस लगाउने चलन नहुँदा हिउँदका लागि खरको जोहो गर्नुपर्छ। केहीले बिक्रीका लागि ज्यान जोखिममा राखेर खर थुपार्ने गरेका छन्। एक भारी खरको मूल्य ती सय रुपैयाँसम्म पुग्छ। आर्थिक अवस्था कमजोर भएकाले खर बेचेरै गुजारा चलाउँदै आएका छन्।
उन्नत घाँसबारे चेतना नहुँदा सुख्खा घाँस संकलनमा बढी जोखिम मोलेर काम गर्छन्। पशु स्वास्थ्य प्राविधिक हरिदत्त जोशीले भने, ‘घर छेउमै लगाउन सकिने र सधैँ हरियो रहने घाँस खेती गर्न प्रोत्साहित गरे अकालमा ज्यान गुमाउने अवस्था रहँदैन।’
जिल्लाभर बर्सेनि घाँस काट्दा धेरै महिलाको भीरबाट खसेर ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।