|

काठमाडौं: विश्वमा हुने संगठित अपराधमध्ये मानव बेचबिखन तेस्रो स्थानमा पर्छ। यसको वार्षिक कारोबार ३२ अर्ब अमेरिकी डलर छ। लामो समयदेखि मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभियान संचालन भइरहेका छन्। तर जति कार्यक्रम सञ्चालन हुँदै जान्छन्, त्यति मानव बेचबिखन गर्ने तस्करहरूले फरक-फरक तरिका अपनाएर यो काम गर्दै आएका छन्।

मानव बेचबिखनको प्रवृत्ति १० वर्षअघिदेखि अहिलेसम्म नबदलिएको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले १० वर्षअघि तयार पारेको रिपोर्टअनुसार अहिले पनि मानव बेचबिखनको संख्यामा कमी आएको छैन।

दश वर्षअघि प्रतिवेदनमा भनिएको थियो, 'नेपालमा १० देखि १२ हजारको संख्यामा वर्सेनि नेपालबाट महिला तथा बालबालिका बेचबिखन हुन्छन्। अहिले १० वर्षपछि आएर पनि नेपालमा मानव बेचबिखनको संख्या घटेको छैन, बरु झनै बढेको छ।

नेपाल प्रहरी र मानवअधिकार आयोगले गरेको अध्ययनले २०७०/०७१ सालमा मात्र छ हजार १०० महिला तथा बालबालिका बेचबिखनमा परेको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसमा १३ हजार ६०० जनालाई बेचबिखनको जोखिममा रहेको आँकडासमेत छ।

सोही प्रतिवेदनले तीन हजार ९०० हराइरहेकामध्ये ७० प्रतिशत बालबालिका रहेको देखाएको छ। विवाहका नाममा, शरणार्थीका नाममा, भिजिट भिजाको नाममा मानव बेचबिखन तथा ओसारपसार भइरहेको प्रतिवेदनले देखाएको छ।

नेपालले हाल ११० देशमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ तर विश्वका सबैजसो देशमा नेपालीहरू कुनै न कुनै माध्यमबाट पुग्ने गरेका छन्। नेपालमा मानव बेचबिखन गर्ने तरिका फरक परेको छ तर मानव बेचबिखन घटेको भनेर ढुक्क हुने अवस्था भने छैन।

सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतना फैलाउँदा पनि किन घटेन मानव बेचबिखन? यो एउटा गम्भीर विषय हामी सामु खडा भएको छ। लामो समयदेखि मानव बेचबिखनमा कार्यरत माइती नेपालकी संस्थापक अनुराधा कोइराला गरिबीका कारण मानव बेचबिखन भइरहेको छ भन्ने कुरामा मात्र रहिरहन सक्ने अवस्था नरहेको बताउँछिन्।

गरिबी भन्ने कुरा आम भाषा मात्रै भएको भन्दै उनले भने, 'गरिबीका कारण हाम्रा चेलीहरू बेचिइरहेका छन् भनेर हामीले भनिरह्यौँ। तर त्यो एउटा धेरै सानो कारण मात्र हो', उनले भनिन्, 'यहाँ त मानव बेचबिखनको यति ठूलो संजाल छ कि एउटालाई थुन्यो अर्को निस्कन्छ, अर्कोलाई थुन्यो अर्को ठीक्क परेको छ। हुँदाहुँदा मानव तस्करी गर्ने सजिलो बाटो बनेको इन्दिरा गान्धी एयरपोर्टबाट जान बन्द गर्यौं तर अहिले त श्रीलंकाको बाटो भएर मान्छे बेच्न लगिन्छ।'

मुख्य नाकामा माइती नेपाललगायतका संघसंस्थाहरू बस्ने भएकाले चोर नाकाहरू प्रयोग गरेर बेचबिखन गर्ने गरेका छन्। 'हामीले मात्र यसलाई रोक्न सक्दैनौँ, यसमा गतिलो कानुन भएन', कोइराला भन्छिन, 'भएका कानुनलाई पनि निस्तेज पार्न माथिबाटै दबाब आउँछ। यसरी राजनीतिक संरक्षणले पीडकलाई कारवाही नै हुँदैन र ऊ फेरि त्योभन्दा धेरै मान्छे बेचेर आउँछ।'

मानव तस्करले बाटो मात्र नभएर तरिकासमेत बदलेको भन्दै उनले मानव बेचबिखनमा संलग्न २१२ वटा मुद्दा आउँदा ३३६ जना गत वर्ष मात्र समातिएको बताइन्। धेरैजसो मुद्दामा राजनीतिक संरक्षणका कारण अपराधी उम्किने गरेको बताउँदै कोइरालाले भारतको बम्बई वा कोलकातामा नेपाली चेली बेचिन्छन् भन्ने कुरा पुरानो भइसकेको बताइन्।

श्रमको लागि भन्दै अन्य देशहरूमा मानव बेचबिखन हुने गरेको रिपोर्टले देखाएको छ। अहिले दुबई, अफगानिस्तान, चीन, मलेसिया, श्रीलंका, पोर्चुगल, स्पेन, साउदी अरब, कतार, इराक, इरान, मकाउ, सिरिया, काजकस्तान जस्ता देशहरूमा मानव बेचबिखन हुने प्रतिवेदनमा उल्लेख छ। यी देशहरूमा लैजान अहिले भारतको बैंगलोर, कलकत्ता एयरपोर्ट र श्रीलंकाको मार्ग प्रयोग हुने गरेको छ।  

उक्त प्रतिवेदनका अनुसार ९५ प्रतिशत महिला बेचबिखनमा पर्दै आएका छन् भने बाँकी पुरुष र अन्य छन्। यसैगरी मानव बेचबिखनमा परेकामध्ये ४८ प्रतिशत आदिवासी जनजाति, २९ प्रतिशत ब्राह्मण, १५ प्रतिशत दलित र ८ प्रतिशत मधेसी समुदायका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.