|

काठमाडौं : वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन सिट संख्याको बाँडफाँड टुङ्गो लगाएको छ। गठबन्धनको मुख्य दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँड टुंग्याएका हुन्।

खासगरी २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि तोकिएका जिल्लामा भागबण्डा टुंगो लगाइएको हो। गठबन्धनको सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ लिने सहमति भएको छ। बाँकी ६ सिट भने राष्ट्रिय जनमोर्चा, हृदयश त्रिपाठीलगायत समूहलाई छुट्याइएको छ।

यसअघि, १० मंसिरमा हुने निर्वाचनका लागि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए। प्रतिनिधिसभाका कुल १ सय ६५ सिटमध्ये एमालेको भागमा ९७ र माओवादी केन्द्रको भागमा ६२ परेको छ। यसैगरी प्रदेशसभातर्फ कुल ३ सय ३० सिटमध्ये एमालेको भागमा १ सय ९८ र माओवादीको भागमा १ सय २८ छ।

यसरी गरियो विवाद समाधान

मुख्य विवाद रहेका जिल्लाहरु दाङ, सल्यान, झापा, चितवन र उदयपुरमा विवाद सल्ट्याउँदै दुई दलले बाँडफाँड टुंग्याएका हुन्। सहमतिअनुसार चितवन-२ बाट एमाले चितवनका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्नेछन् भने त्यही क्षेत्रमा उम्मेदवारी दाबी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापा काठमाडौं १० बाट उठ्नेछन्।

सहमतिअनुसार दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने सहमति भएको छ। यसअघि, त्यही क्षेत्रबाट उठ्दै आएका एमाले नेता तथा सचिव शंकर पोखरेललाई गठबन्धनका तर्फबाट प्रदेश ५ को मुख्यमन्त्री बनाउनेगरी प्रदेशसभाको उम्मेदवार बनाउने सहमति भएको छ।

यसैगरी, सल्यान जिल्लामा प्रतिनिधिसभातर्फ माओवादीका टेकबहादुर बस्नेत उम्मेदवार बन्ने सहमति भएको छ। सल्यानका दुवै प्रदेशमा भने एमालेका प्रकाश ज्वाला र गुलाबजंग शाह उठ्नेछन्। नेता ज्वालालाई प्रदेश ६ को मुख्यमन्त्रीका दाबेदारका रुपमा एमालेले उठाउने सहमति भएको छ।

प्रतिनिधिसभा माग्दै आएको एमालेले अन्तिममा दुईवटा प्रदेशसभा लिने सहमति भएको एमालेका केन्द्रीय सदस्य गुलाबजंग शाहले बताए। 'प्रतिनिधिसभामा हामीले नै लिने प्रयत्न भएको थियो। तर, वाम गठबन्धनको सहमतिअनुसार हामीले २ प्रदेश लिएर माओवादीलाई प्रतिनिधिसभा दिने सहमति भएको छ' नेता शाहले भने।

यस्तै, झापा १ मा माओवादी एवं २, ४ र ५ मा एमालेलाई दिनेगरी बाँडफाँड टुंगो लगाइएको छ। झापा ३ मा भने राप्रपालाई सघाउने दुई दलबीच समझदारी भएको छ। सुर्खेतमा दुवै प्रतिनिधिसभा एमाले र प्रदेशसभामा माओवादीको तर्फबाट उम्मेदवारी दिने सहमति भएको छ। यस्तै, दैलेखमा प्रतिनिधिसभाका दुवै क्षेत्र र प्रदेशसभाका तीनवटा क्षेत्र एमालेले लिने टुंगो लागेको छ । प्रदेश १ को 'क' भने माओवादीलाई दिइएको छ।

कांग्रेसले झापा ३ नछोड्ने भएपछि त्यहाँ राप्रपा कांग्रेससँग वाम गठबन्धनले राप्रपालाई सघाउन लागेका छन्। कांग्रेससँग असन्तुष्टि जनाउँदै उम्मेदवारी दिन लागेका राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई वाम गठबन्धनले सघाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.