|

चितवन : चितवनको भरतपुर अस्पतालमा द्वन्द्व प्रभावित लगायतको उपचार सेवा विस्तारका लागि शान्ति मन्त्रालयको शान्तिकोषसँग ९ करोडको सम्झौता भएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मराशिनीले सो कोषमार्फत आउने उक्त रकमले अस्पतालको उपचार सेवामा एउटा आयाम थपिने बताए। केहीदिन अघि मात्रै मन्त्रालयको शान्ति कोष र अस्पतालबीच सम्झौता भएर कार्यक्रम कार्यान्वयनको तहमा पुगेको उनको भनाई छ।

उक्त रकमले अस्पतालमा द्वन्द्व प्रभावितसँगै हाडजोर्नी, स्पाईनल ईन्जुरी तथा न्यूरो सर्जरी र क्यान्सर स्क्रिनिङका लागि चाहिने उपकरण खरिदसँगै सेवा विस्तार गर्ने तयारी गरिएको छ। द्वन्द्व प्रभावितका लागि आएको सहयोग भए पनि उक्त कार्यक्रम अस्पतालमा लागु भएपछि अस्पतालकै समग्र सेवामा विकास भई अन्य विरामीले समेत लाभ लिन सक्ने डा. मराशिनी बताउँछन्।

हाल चितवनको भरतपुर अस्पताल ६०० शैयामा सञ्चालित छ। ८० प्रतिशत शैयामा बिरामी भरिने गरेको उनले बताए। कुनै बेला बिरामीको चाप बढी हुँदा यहाँ भुईमा राखेरसमेत बिरामीको उपचार हुँदै आएको छ। पछिल्लो समयमा भरतपुर अस्पतालले विभिन्न विशेषज्ञ सेवासँगै उपकरणहरु थप्ने र आधुनिक सेवाहरु दिन थालेको छ। तैपनि अझै विरामीहरुले सहज रुपमा उपचार पाउन सकेका छैन। बिरामीहरुले उपचार तथा रोग परिक्षणमा लामो समय कुर्ने परेको गुनासो दैनिकजसो आउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.