|

भद्रपुरः प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ९ का ४१ वर्षका रोशन श्रेष्ठ र सोही ठाउँका ३२ वर्षका कमल विमली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। 

प्रहरीले उनीहरूको साथबाट सात ग्राम ब्राउन सुगर बरामद गरेको नायव उपरीक्षक बस्नेतले बताए। उनका अनुसार भारतको पानीट्यांकी बजारबाट नेपालतर्फ आउँदै गरेको मे४प १५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई काँकडभिट्टाको मूलगेटमै लागूऔषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिइएका दुवै जनालाई चेकजाँच गर्दा चुरोटको बट्टाभित्र लुकाएर ल्याएको ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.